'नेपाली मिडियाको इतिहास: छापादेखि डिजिटलसम्म' पुस्तक सार्वजनिक

जेष्ठ १६, २०८२

कान्तिपुर संवाददाता

'History of Nepali Media: From Print to Digital' book launched

काठमाडौँ — प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको विगतदेखि वर्तमानसम्मका सबै आयामहरुका विषय समेटेर 'नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म' पुस्तक सार्वजनिक गरेको छ । 

शुक्रबार राजधानीमा आयोजित सम्पादक संवाद कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पुस्तक विमोचन गरे । पत्रकारितामा हरेक कालखण्डमा थपिएका चुनौती र तीनलाई पार लगाउँदै मिडियाले गरेको विकास र महत्वपूर्ण  घटनाक्रमहरुलेमा मिडियाले खेलेका भूमिका लगायतका विषयहरु पुस्तकमा समेटिएको छ ।  

कुन्दन अर्याल, रघु मैनाली, जगत नेपाल, शुभेच्छा विन्दु तुलाधर, उज्ज्वल आचार्य, भुवन केसी, रुद्र खड्का र तीर्थ कोइराला गरी ८ जना लेखकले मिडियामा फरक विधामा लेखेका सामग्री पुस्तकमा छन् । छापाअन्तर्गत 'हिजोको पर्चा, आजको ब्रोडसिट, रेडियोअन्तर्गत 'रोमाञ्चकतादेखि रुपान्तरणसम्म', टेलिभिजनअन्तर्गत 'श्रव्य- दृश्य पत्रकारितामा छलाङ', अनलाइनअन्तगर्गत 'डिजिटल युवका समाचार,  समाजिक सञ्जालअन्तर्गत 'सोसल मिडिया र पत्रकारिता, विधागत पत्रकारिताअन्तर्गत 'विकास, अभ्यास र भविष्य र आचारसंहिताअन्तर्गत पत्रकारितामा नैतिकताको मार्गचित्र शीर्षकमा सामग्री पुस्तकमा समेटिएका छन् ।

'नेपाली पत्रकारिताको हिजोको कठिन अवस्था र विभिन्न कालखण्डको संघर्ष र पत्रकारिता र मिडिया क्षेत्रका भोलिका संभावनाहरुलाई पनि पहिल्याउन सहयोग पुग्ने भएकाले हामी यो पुस्तक प्रकाशन गरेका हौं,' काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने,'पहिले प्रकाशित भएका मिडियासम्बन्धी धेरै सामग्री अनुसन्धानात्मक चरित्र बोकेका थिएनन् । त्यसैले अहिले अनुनसन्धानसहित पत्रकारिताका सबै विधालाई समेट्नेगरी पुस्तक ल्याइएको हो ।' 

पुस्तक विमोचनका सन्दर्भमा पारेर गरिएको सम्पादक संवाद कार्यक्रममा विभिन्न पत्रकारहरुले पत्रकारितामा अहिले भित्रका प्रविधिको चाप र त्यसले सिर्जना गरेका व्यवहारिक अभ्यासका चुनौतीबारे विमर्श गरेका थिए ।

कान्तिपुर

Link copied successfully