हरिप्रसादका चित्रमा बाँचिरहेका इतिहास

जेष्ठ १५, २०८२

समर्पण श्री

Living history in Hariprasad's paintings

काठमाडौँ — ६ वर्षपछि चित्रकार हरिप्रसाद शर्माका चित्रहरूसँग कलापारखीले फेरि साक्षात्कार गर्ने मौका पाए । 

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलका भित्तामा विलीन इतिहासका मनमोहक दृश्य देखेर रमाए । सँगै नेवारी संस्कृति, जीवन, जीवनशैली, जात्रा र कालखण्डलाई नियाले । यसअघि ०७६को भदौमा आर्ट काउन्सिलमै हरिप्रसादको एकल प्रदर्शनी भएका थिए ।

त्यतिबेला कलाकार अरनिकोको दुर्लभ चित्रहरू देखेर कलाप्रेमीहरू मुग्ध थिए । प्राचीनकालमा नेपालको वास्तुकलाबाट प्रभावित भएर चीनका एक बादशाहले एक सय कालिगड मगाएका थिए । त्यहीबेला अरनिको नामले प्रसिद्धी पाएका १७ वर्षे युवक बलबाहु ८० जना कालिगडको नेतृत्व गर्दै चीन गएका थिए । उनै बलबाहुलाई विदाइ गर्दाको दुर्लभ क्षणलाई हरिप्रसादले क्यानभासमा जीवन्त उनेका थिए ।  

६ वर्षअघि ८२ वर्षका थिए  हरिप्रसाद । अहिले ८८ पुगे । बलहरू घट्दै गएका छन् । कुची समात्ने हातहरू काँप्दै गएका छन् । तर धमिला बनिसकेका इतिहासको स्मृति तेज भने उतिकै तिखा छन् उनका । आँखाहरू तेजिला छन् । यो बीचमा हरिप्रसादका कुचीबाट १५ वटा नयाँ चित्र थपिए ।

Living history in Hariprasad's paintings

वि सं १८२६ मङ्सिर १ गते पृथ्वीनारायण शाहले भक्तपुर राज्य जितेका थिए । भक्तपरमा लड्नुअघि पृथ्वीनारायणले कान्तिपुर र ललितपुरमा युद्ध जितिसकेका थिए । भक्तपुरमा तीन दिन लडाइँ गरेर विजय प्राप्त गरेपछि पृथ्वीनारायणले मितबाको गोडा ढोगेर मल्लकालको अन्त्य गरेको त्यो क्षण हरिप्रसादका चित्रमा बाँचेको छ ।

त्यो चित्र बनाउन सहज थिएन । बाको चित्रकला यात्रामा निरन्तर साथ दिइरहेका छोरा विष्णु शर्मा भन्छन्, ‘भक्तपरको मूल चोकमा रहेको त्यो चित्रको स्केच त्यहीँ बसेर गर्न पाइन्न थियो । कागज पनि लिएर जान पाइन्न थियो । बाउ छोरा त्यहाँबाट नोटिस गर्दै बाहिर आएर काम गर्थ्यौँ ।’

एउटा चित्रमा, पृथ्वी नारायण शाहले नेवारी नाच हेरेपछि नर्तकलाई सुन र चाँदीको असर्फी दिएका छन् । यो हरिप्रसादले निकै समय डुबेर कोरेका चित्र हुन् । चित्र बनाउन नै उनलाई ६ महिना लाग्यो ।

हरिप्रसादको चित्रकलाको पुस्तक त अहिले विदेशी पाहुनालाई राष्ट्रपतिको कार्यालयले उपहार दिने गरेको छ । 

हरिप्रसादका चित्रमा इतिहाससँगै नेवारी जीवनशैली कसरी अटाउँछन् त ?  यसका लागि उनको विगततर्फ फर्कनुपर्छ । उनको बाल्यकाल काठमाडौँको लगनटोलमा बित्यो, जहाँ नेवारी समुदायको वर्चस्व थियो । आफू पण्डितको छोरा भए पनि साथी–संगती नेवार । सानैमा नेवारी जीवनशैली र संस्कृतिको छाप पर्यो हरिप्रसादमा ।

Living history in Hariprasad's paintings

नेवारी बोल्नु, नेवारी जात्रामा सहभागी हुनुजस्ता कुराले उनले नेवारी संस्कृतिलाई नजिकबाट चिहाए । उनको स्मृतिमा अझै ताजा छन् बटुटोलबाट झिकिने मार्खा जात्रा । बाल्यकालमा झ्यालबाट त्यो जात्रा चियाउँथे उनी । ‘माघको चिसोमा माटोको घैँटोबाट नांगो शरीरभरि सहस्र धारा थापेर हिँड्ने साधकहरू, बाजागाजासहितका टोली तथा गहना र सुन्दर पहिरनमा सजिएर हातमा मैनका गुलाफका फूल लिएका नेवार युवतीहरूको उपस्थितिले जात्रालाई थप भव्य बनाउँथ्यो,’जात्राको सम्झना गर्दै गरिएको न्यारेसनमा उल्लेख छ । उनका चित्रहरूमा राजामतीको सौन्दर्य भेटिन्छ ।

नेवारी रक्सी बनाउने मौलिक प्रकियासँग साक्षात्कार भइन्छ । कुनैमा जात्रा, कुनैमा व्यापार, कुनैमा पर्व,  कुनैमा पेसा स–दृश्य झल्किन्छन् । चित्र प्रदर्शनीको समयमा हरिप्रसाद माटोप्रेम र कलाप्रेम व्यक्त गर्दै भन्छन्, 

‘नेपालमै जन्मे यहीँ नै हुर्किएँ यहीँ नै बिलाऊँ

कला र काब्यको सिर्जना गर्दै यसैमा हराऊँ ।

हरिप्रसादका चित्रबारे सत्यमोहनले भनेका थिए, ‘उहाँका कला भावना र कल्पनाशीलता दर्शनीय, प्रशंसनीय छ ।’ प्रोफेसर अभि सुवेदीले पनि उनका कलाबाट प्रभावित हुँदै प्रशंसाका शब्द व्यक्त गरेका थिए, ‘यस्तो गहन र दुर्लभ दृश्यको चित्र कसैले बनाएको देखिन्न । न उहाँको गुरुले न समकालीनले । उहाँका चित्रहरू प्रसिद्ध लाग्छन् ।’

हरिप्रसादको पेन्टिङ यात्रामा छोरा विष्णु उत्तिकै सक्रिय छन् । विष्णु अर्थशास्त्रको प्राध्यापक हुन् । उनी पहिले नियमित कलेज पढाउँथे । बुबाका लागि पर्याप्त समय नपुगेपछि उनले नियमित प्राध्यापन छाडे ।

Living history in Hariprasad's paintings

०३० सालमा एकजना ‘ठग’ले हरिप्रसादका चित्रहरू लगेर फिर्ता नगरेपछि उनका औंलाहरूले निकै वर्ष कुची र ब्रस समातेनन् । ०५२ मा हरिप्रसादको जीवन–संगिनी बितेपछि आत्मशान्तिका लागि फेरि चित्र बनाउने चाह प्रकट गरे ।

बुबाले चित्र बनाउने निर्णय गरेपछि विष्णु खुसी भए । ‘त्यसपछि बुबाले जुन चित्रहरू बनाउनुभयो । यसलाई त्यसै खेर जान दिनु हुँदैन भन्ने लाग्यो,’ विष्णु भन्छन् । बा छोराले ३० वर्षको अन्तरालमा काठमाडौँको संस्कृतिमा आएको परिवर्तनको अभिलेख नभएको विषयमा चिन्तन गरे । ‘पुराना घर थिए, अब नयाँ बने ।

तिनको अभिलेख भएनन् । पछिल्लो पुस्ताले हेर्नै नपाउने भयो । तपाईंले यसमा काम गर्न सक्नुहुन्छ । म तपाईंलाई सहयोग गर्छु,’विष्णुले हरिप्रसादलाई ढाडस दिए । त्यसपछि पुराना घर जानु, गल्ली चहार्नु, त्यहाँको जनजीवनको फोटो खिच्नु,  पढ्नु उनीहरूको दिनचर्या भयो । लोप भएका जनजीवनमाथि अध्ययन गरे उनीहरूले ।

विष्णु सामग्री जुटाउँथे र त्यसमा ‘भिजन दिन्थे । यसरी बा छोराको सहकार्य अहिलेसम्म निरन्तर छ । यो प्रदर्शनी पनि त्यही सहकार्यको फल हो ।

अहिलेको प्रदर्शनीपछि हरिप्रसाद झन् प्रसन्न देखिएका छन् । छोरालाई उनले भनेका छन्, ‘अब मलाई प्रचार पनि पुगेको छ । सब कुरा पुगेको छ । यहाँसम्म आउँदा धेरै खुसी छु ।’

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully