काठमाडौँ — बौद्ध दर्शनमा आधारित शैलेन्द्र अधिकारीको उपन्यास 'अर्हत्' परिसंवादमा वक्ताहरूले बुद्ध बुद्धत्वको खोजीमा निस्किएझैं लेखक बुद्धको खोजीमा निस्किएको बताएका छन् ।
शनिबार राजधानीमा भएको कार्यक्रममा बोल्दै समालोचक राजकुमार बानियाँले २०८१ सालमा प्रकाशित उपन्यास अर्हत् अद्योपत पढ्नैपर्ने किताब रहेको उल्लेख गरे । त्यस्तै, पत्रकार दीपक सापकोटाले बुद्धले आफ्नो जीवनमा तनाव पाएको र त्यसको बाबजुद उनले अर्हत् प्राप्त गरेको बताए । 'बुद्ध बुद्धत्वको खोजीमा थिए, अर्हत्का लेखक बुद्धको खोजीमा छन्, बुद्ध चिन्न किताबले सघाउँछ,' उनले भने, 'काँडाको बाटोमा फूल कसरी फुल्छ ? थाहा पाउन यो पुस्तक पढ्नैपर्छ ।'
लेखक भुवनहरि सिग्देलले बुद्ध बनेर, बुद्ध पात्र भएर लेख्दा भित्रै प्रवेश गर्नुपर्ने बताए । उनले थपे, 'यो किताब बुद्धको आत्मकथा हो ।'
करिब एक दर्जन वक्ताले पुस्तकमाथि आफ्नो पाठकीय धारणा व्यक्त गरेका थिए । पुस्तक समीक्षक अनिता कोइरालाले साधारण मान्छेको रुपमा बुद्धलाई प्रस्तुत गरेको र पुस्तकले जीवन जिउने कला सिकाउने बताइन् ।
पुस्तक गत भदौमा शिखा बुक्सबाट प्रकाशनमा आएको हो । यसअगाडि अधिकारीका 'निर्वेद' उपन्यास र 'ब्रह्मास्त्र' कथासंग्रह प्रकाशित छन् ।
