सुमनको कवितासंग्रह 'अभ्युदय' सार्वजनिक

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

Suman's poetry collection 'Abhyudaya' released

काठमाडौँ — कवि, गीतकार एवं नियात्राकार सुमन थापा 'संगम' को नवीन कविता संग्रह 'अभ्युदय' को शुक्रबार काठमाडौंमा विमोचन भएको छ ।

कवि संगमका ८४ वर्षीय पिता विष्णुवीर थापा, तीन छोरीहरू समीक्षा केसी, प्रशंसा केसी, क्रिशला केसी, नातिनातिना आरुण्या केसी, आयाङ्श केसी, आव्यान्या केसी र कवि स्वयंबाट लोकार्पण गरिएको हो ।पोडियममा कवि स्वयं उभिएर कुनै तामझामबिना कार्यक्रम सञ्चालन गरेकी थिइन् । कविकी छोरी समीक्षाले उपस्थित सबैलाई स्वागत गरिन् । कवि रमी प्रियाले संग्रहभित्रबाट कविता वाचन गरेकी थिइन् ।

अर्का कवि विश्व सिग्देलले 'अजम्बरी फूल', श्रीबाबु कार्कीले 'घाम ओढेर हिँडेपछि' र प्रोल्लास सिन्धुलीयले 'हृदय दुखेको बखत' वाचन गरे । यी कविता पनि संग्रहभित्रकै हुन् । डा. शेखरकुमार श्रेष्ठले कृतिको जन्म, पृष्ठभूमि , कविको परिचय र कविताको समीक्षा गरे ।

कवि संगमले दर्शकदीर्घाबाट सुभाषचन्द्र पौडेलले अनुरोध गरेको कविता 'बालुवामा लेखिएको नाम' र ' बृहत् कथामा आमा' वाचन गरेकी थिइन् ।यसअघि उनको 'माइतीघरको फूल' कवितासंग्रह प्रकाशित भइसकेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully