कार्कीको ‘अर्थदृष्टि’ बजारमा

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

Karki's 'Artha Drishti' market

काठमाडौँ — विश्लेषक, अनुसन्धानकर्ता तथा लेखक मनिकर कार्कीको नयाँ किताब ‘अर्थदृष्टि : अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, पूर्वमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे, पूर्वमन्त्री रामकुमारी झाँक्री, पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ र अनुसन्धानकर्ता डा. कल्पना खनालले संयुक्त रूपमा किताबको विमोचन गरे ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले विमोचन समारोहमा भने, ‘यो किताब नेपालको आर्थिक विकासको मार्गचित्र तय गर्न चाहने नीति–निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूका लागि अमूल्य पाठ्यसामग्री हो । यसले समस्याको जरोसम्म पुगेर समाधानका वैकल्पिक बाटाहरू प्रस्तुत गरेको छ ।’

अनुसन्धानकर्ता डा. खनालले किताबको विश्वव्यापी सान्दर्भिकताबारे प्रकाश पार्दै भनिन्, ‘नेपालको आर्थिक अवस्थालाई विश्व सन्दर्भको आर्थिक–राजनीतिक परिवेशसँग जोडेर विश्लेषण गरिएको छ । यसले किताबलाई अन्तरराष्ट्रिय स्तरमा समेत प्रासङ्गिक बनाएको छ ।’

पूर्वमन्त्री पाण्डेले किताबमा विकासका संरचनात्मक समस्याहरूलाई विस्तृत र तथ्यपरक ढंगले प्रस्तुत गरिएको बताए । उनले भने, ‘नेपालको विकास प्रक्रियामा देखिएका अवरोधबारे हरेक नागरिकले बुझ्न जरुरी छ, र यो किताब त्यसका लागि एक प्रभावकारी माध्यम बन्नेछ ।’

नेपाल राष्ट्र बैंकका गभर्नर डा. पौडेलले किताबको ऐतिहासिक र समसामयिक विश्लेषणको प्रशंसा गरे । उनले भने, ‘राणाकालदेखि नै नेपाली अर्थतन्त्रमा देखिएका कमजोरीलाई कार्कीले गहिरो अध्ययनका साथ प्रस्तुत गरेका छन् । वैकल्पिक अर्थतन्त्रको अवधारणालाई समेत समेटेर उनले आर्थिक लेखनमा महत्वपूर्ण योगदान दिएका छन् ।’

त्यसैगरी, पूर्वमन्त्री झाँक्रीले अर्थतन्त्र र विकासका विषयलाई गतिशील र अद्यावधिक राख्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘वर्तमान परिस्थितिमा हामीले कसरी उत्कृष्ट नीति र रणनीति अपनाउन सक्छौँ भन्ने कुरा बुझ्न यो किताब अत्यन्त उपयोगी छ ।’  

यो कार्कीको दोस्रो किताब हो । यसअघि उनको ‘वैकल्पिक अर्थतन्त्र’ नामक किताब प्रकाशित भइसकेको छ, जसले नेपालको आर्थिक नीतिका वैकल्पिक दृष्टिकोणहरूबारे चर्चा गरेको छ । इन्डिगो इन्कद्वारा प्रकाशित किताबको मूल्य ६९९ रुपैयाँ तोकिएको छ ।  

कान्तिपुर

Link copied successfully