लिम्बू भाषा, संस्कृति र इतिहासको अध्ययन गर्न एक करोडको प्राज्ञिक कोष

विष्णदत्त–सरस्वती प्राज्ञिक पुरस्कार इतिहासकार स्वर्गीय कृष्णविक्रम नेम्बाङलाई

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

1 crore academic fund to study Limbu language, culture and history

काठमाडौँ — लिम्बू र लिम्बूवान क्षेत्रको भाषा, संस्कृति र इतिहासका सम्बन्धमा अध्ययन, अनुसन्धान कार्यलाई सहयोग पुर्‍याउन एक करोड रुपैयाँको विष्णदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष स्थापना भएको छ । 

ताप्लेजुङमा जन्मिएर हाल क्यानडामा बस्दै आएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङले लिम्बुवान अध्ययन केन्द्रले सञ्चालन, व्यवस्थापन गर्ने गरी एक करोड रुपैयाँको प्राज्ञिक कोष स्थापना गरेका हुन् । उक्त कोषको ब्याज रकमबाट लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप तथा राजनैतिक, सामाजिक आर्थिक र शैक्षिक विषयहरूमा विवेचनात्मक अनुसन्धान र ज्ञान अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । कोषबाट दुई–दुई वर्षको अन्तरमा सम्मानस्वरुप एक लाख रुपैयाँको विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार प्रदान गरिने छ भने असुन्धानवृत्ति’ हरेक वर्ष एक महिला र एक पुरुषलाई प्रदान गरिने छ । 

अक्षयकोषदाता आङ्बुहाङले आफ्नो लिम्बू भाषा, संस्कृति र इतिहासको अध्ययन र अनुसन्धानका लागि कोष स्थापना गरेको बताए । ‘हरेक देशका नागरिकको आफ्नो मातृभूमिप्रति विछट्टै माया मोह र स्नेह हुन्छ । आफ्नो रोजीरोटी र जीवनयापन तथा अध्ययनका लागि नेपालीहरू पनि विभिन्न मुलुकमा रहेका छन्,’ आङ्बुहाङले भने ।

आङ्बुहाङ दम्पतीले वि.सं. २०७३ सालमै २० लाख रुपैयाँको कोष स्थापना गरेका थिए । पछि त्यसैमा ३० लाख रुपैयाँ थप गरी ५० लाख रुपैयाँ पुर्‍याएका उनीरूले शनिबार त्यसमा थप ५० लाख रुपैयाँ थप गरी एक करोड रुपैयाँको कोष खडा गरिदिएका लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नामले बताए । 

उनका अनुसार शनिबार एक समारोहका बीच यो वर्षको विष्णुदत्त–सरस्वती प्राज्ञिक पुरस्कारबाट इतिहासकार स्वर्गीय कृष्णविक्रम नेम्बाङलाई प्रदान गरिएको छ । नेम्वाङको कृति ‘लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध, २०८०’ प्रकाशित छ ।

स्वर्गीय नेम्वाङलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपपति बैरागी काइँलाले नगद एक लाख रुपैयाँ राशीको उक्त पुरस्कारले मरणोपरान्त सम्मान गरे । पान्थरको पौवासारतापमा जन्मिएका इतिहासकार नेम्बाङको उक्त कृति प्रकाशित भएलगत्तै २०८० मंसिर ३ गते निधन भएको थियो । 

त्यस्तै, यो वर्षको विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति विवेक गौतमलाई प्रदान गरिएको छ । गौतमले लिम्बु समुदायको ‘पाहा’को महत्वका विषयमा अध्ययन गरेका छन् । 

यसअघि विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कारबाट विजय लुम्फुङ्वा लिम्बू र डा. मोराहाङ लिम्बुलाई पुरस्कृत गरिएको थियो । 

त्यस्तै, अनुसन्धानवृत्तिबाट इन्दु फोम्बो र राज माङलाक तथा एल.बी पालुङवा लिम्बू, अमर तुम्याहाङ र टेब लावती, कालीबहादुर लिम्बु र अमृता थेबे, सन्ध्या सुब्बा (सिङ्जाङ्गो), मधुराज केरुङ, भीमा सुब्बा लिम्बु, दिलेन्द्र कुमार सुब्बा, मनकुमार लिम्बु, सुवासचन्द्र तेयुङ, ताजुब कुमार लिम्बू, हितराम तिलिङ र डम्बर लावती, सीता मादेम्बा र एल.बी. पालुङ्वा लिम्बूले विभिन्न विषय र सन्दर्भमा अध्ययन अनुसन्धान गरेका थिए। 

आङ्बुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३, हाङपाङमा जन्मिएका थिए । आफ्नो ऊर्जाशील जीवनको अधिकांश समय अध्यापनमा बिताएका उनले २०३२ सालदेखि २०४१ सालसम्म नेपाल सरकारको अधिकृत पदमा रहेर सेवा गरेका थिए । २०५९ सालयता भने उनी क्यानडामा बस्दै आएका छन् ।

कान्तिपुर

Link copied successfully