काठमाडौँ — नेपाली सेनाका अवकाशप्राप्त जमदार बेदबहादुर खड्काले रम्दीकोटे पुँवार खड्काको वंशावलीबारे लेखेको पुस्तक बजारमा आएको छ । नालापानी युद्धका योद्धा दयाराम खड्काको बहादुरीपूर्ण इतिहासलाई समेत पुस्तकमा महत्त्वपूर्ण स्थान दिइएको छ ।
प्यूठान जिल्लाका रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुको इतिहासलाई संरक्षण गर्ने उद्देश्यले पुस्तक प्रकाशनमा ल्याएको लेखक खड्काले बताए ।
पुँवार खड्काहरुले नेपाली सेनामा वर्षौं पहिलेदेखि वीरताको इतिहास बनाएको र अहिलेको अवस्थामा छरिएर देश विदेशमा छरिएर रहेका बस्नेहरुको समेत सामाजिक योगदानलाई आत्मसात गर्दै पुँवार वंशावली तयार पारेको खड्काले बताए ।
आफूहरु नालापानीमा २१० वर्षअघि अंग्रेज फौजसँग भएको भीषण युद्धका बेला वीरताका साथ लड्ने कम्पनी कमान्डर सुबेदार दयाराम खड्काका सन्तति भएको लेखक खड्काले पुस्तकमा बताएका छन् । नालापानी युद्धका बेला बलभद्र कुँवरले किल्ला छोडेर जाँदा समेत दयाराम खड्का अन्तिम अवस्थासम्म अंग्रेजविरुद्ध लडिरहँदा वीरगति प्राप्त गरेको कुरा पुस्तकमा उजागर गरिएको छ ।
दयाराम खड्काले १४, १५ वर्षकै उमेरमा गोरखाली सेनामा भर्ना भइ वीरता प्रदर्शन गर्दै कम्पनी कमान्डर(सुबेदार) भएको किताबमा बताइएको छ ।
नालापानीको युद्धमा अंग्रेजतर्फका मेजर जनरल जिलेस्पीलागायतका योद्धाहरुको अवसान हुनुका साथै नेपालमातर्फ पनि त्यतिकै मात्रामा नोक्सानी भएको थियो । १८७१ कात्तिक १० गते सुरु भएको नालापानी युद्धको प्रारम्भमा अंग्रेजतर्फ पराजित भएको र त्यसबेलाको युद्धकौशल देखेर पश्चिमतर्फ नेपाल राज्य विस्तारका लागि युद्धको कमान्डरका रुपमा दयाराम खड्काललाई चुनिएको खड्काले पुस्तकमा जनाएका छन् ।
नालपानीमा घरेलु हातहतियार, ढुंगा र घुयत्रो चलाएर अंग्रेज फौजसँग भएका तोप, गोलाबारी र बन्दुकसँग लड्न सजिलो नभएको त्यैपनि उक्त युद्धमा नेपाली सेनाले साहसका साथ वैरीसँग लडेको पुस्तकमा बताइएको छ । युद्धका क्रममा जनरल जिलेस्पीको आक्रमणको प्रतिरोध गर्न नेपालबाट कप्तान बलभद्र कुँवर खटिएका थिए । गढीभित्र कम्पनी कमान्डर भने सुबेदार दयाराम खड्का मात्रै थिए । उनी युद्धका क्रममा गढीमै ढलेको र दुश्मनसँग लडाइँमा नभागेर साहसपूर्वक लडेको किताबमा बताइएको छ ।
युद्धमा होमिएका दयाराम खड्का नै भएको पुष्टि गर्नका लागि १८६९ मा लेखिएको उनको नामको लालमोहर र नालापानी युद्धमोर्चाबाट पठाएका चिठीपत्रसमेत समावेश छन् ।
