‘सीमान्त सम्झना’को गृह विमोचन 

जेष्ठ २, २०८२

शंकर आचार्य

Home release of 'Simanta Yakan'

पर्सा — साहित्यकार गणेशप्रसाद लाठद्वारा लिखित संस्मरण पुस्तक ‘सीमान्त सम्झना’को शुक्रबार वीरगन्जमा गृह विमोचन गरिएको छ । 

लेखक लाठका नातिनी अनिष्का र नाति आरभ लाठले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । नेपालय, रेस खबर, नारायणी एफएम र पाठशाला नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वीरगन्जेली परिवेशका विषयवस्तु समेटिएका कृतिको वीरगन्जमै विमोचन गरिएको हो । 

लाठको कृतिमाथि समीक्षा गर्दै पाठशाला नेपालका अध्यक्ष बालगोपाल थापाले लाठको पाँचौं कृतिको रुपमा आएको सीमान्त सम्झनाले आफूलगायत थुप्रै पाठकलाई वीरगन्जको इतिहासको बहुआयामिक पक्षबारे सजिव जानकारी दिएको बताए । 

स्तम्भकार चन्द्रकिशोरले साहित्यकार लाठले वीरगन्जका सबै राम्रा पक्ष मात्रै उजागर गरेको अवस्थामा केही नराम्रा पक्ष पनि उजागर गर्न सकेको त्यसमा लेखकको साहस झल्किने बताए । 

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष एमव् लेखक लाठका बालसखा अशोक टेमानीले लाठले पुस्तकमा आफ्नो र आफूसँग जोडिएका कतिपय भुलिसकेका संस्मरणलाई समेत समेटेकामा ती क्षणहरु मानसपटलमा ताजा भएर आएको बताए । 

नेपालयका सम्पादक बिमल आचार्यले नेपालयको लाठसँगको यो दोस्रो सहकार्य रहेको बताए । लाठले वीरगन्जको इतिहास र विशेषतालाई मिहिन ढंगले बुन्न सफल भएको पनि उनले टिप्पणी गरे । 

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले लाठको साहित्यिक क्षेत्रमा निरन्तरको सक्रियता र समर्पणले उनलाई स्थापित साहित्यकारको चिनारी दिएको बताए । लाठ वीरगन्जको नयाँ रत्नको रुपमा स्थापित भएको बताए । लाठसँग आफू बाल्यकालदेखि परिचित रहेको र उनको खेल, व्यापार, समाजसेवादेखि पछिल्लो समयको साहित्यिक यात्राले उनको बहुआयामिक व्यक्तित्वको पहिचान स्थापित गरेको उनले बताए । 

लेखक लाठले वीरगन्जको इतिहास र यसका गौरवशाली गाथाबाट वर्तमान पुस्ता अझै अनभिज्ञ रहेकाले आफूले पुस्तक मार्फत वर्तमान पुस्तालाई वीरगन्जको इतिहास बताउने प्रयास गरेको बताए । उनले आफ्नो यो कृतिमा वीरगन्जको कतिपय पक्ष छुटेको प्रतिक्रिया पाठकहरुबाट पाइरहेको र आफूले त्यसलाई मनन गरेर निकट भविष्यमै ‘सीमान्त सम्झना–२’ ल्याउने प्रतिबद्धतासमेत जनाए । उनले लेखनीमा आफ्नो सक्रियता नघट्ने बताउँदै कम्तीमा २ दशक साहित्यकर्ममा समर्पित रहने वचनबद्धता पनि जनाए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully