र्‍यान्डममा धोबीघाट मेलोडी

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

Dhobighat melody at random

पोखरा — र्‍यान्डम रिडर्स सोसाइटीमा शनिबार मुकुन्दराज शर्माको निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’ को चर्चा गरिएको छ ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रघुनाथ वाग्लेले कृतिको चर्चा गर्दै धोबीघाट मेलोडी जीवन मेलोडी भएको धारणा राखे । 

उनले भने, ‘जीवन जसरी हिजो आजसँग मिल्दैन, आज भोलिसँग मिल्दैन तर प्रत्येक दिनले आ–आफ्नो छाप छोडेकै हुन्छन् । त्यसरी नै धोबीघाट मेलोडीका निबन्धहरू एउटा अर्कोसँग मिल्दैनन् तर सबै निबन्धहरूले सशक्त सन्देश बोलेका छन् ।’

समाजका चम्चेहरूलाई व्यङ्ग्यको तिखो वाण प्रहार गर्न निबन्ध सफल भएको भन्दै वाग्लेले चम्चागिरी गर्नेहरू ठूलाबडाका पैताला वरिपरि भेटिने यथार्थ शर्माले प्रस्तुत गरेका बताए । देशप्रेमको भावना विस्तार र सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य एकसाथ प्रस्तुत गर्न कृति सफल रहेको वाग्लेको भनाइ छ । 

निबन्धमा गरिएका केही नयाँ प्रयोगले निबन्धकार शर्मालाई विशिष्ट पहिचान दिएको भन्दै उनले आम नेपालीको चाहनालाई निबन्धमा उतारिएको बताए ।

निबन्धकार शर्माले आफूले जीवनमा देखे/भोगेका कुरालाई निबन्धका रूपमा प्रस्तुत गरेको बताए । विचार प्रवाहका लागि निर्बन्ध ढङ्गले लेखिएका निबन्धहरू लेख्ने प्रयास गरेको उनको भनाइ थियो ।

हिउँचुलीमा हिउँ बग्यो..., वनमाराले वनै खायो... लगायत चर्चित गीतका गीतकारसमेत रहेका शर्माको यसअघि ‘शब्दशिविर’ नामक निबन्ध सङ्ग्रह प्रकाशित छ । गणित विषयका विभिन्न पाठ्यपुस्तकसमेत लेखेका उनी लिटिल एन्जल स्कुल, काठमाडौंका प्रिन्सिपल हुन् । ‘धोबीघाट मेलोडी’ कामना न्युज पब्लिकेसन्सले बजारमा ल्याएको हो ।

साहित्यकार सरुभक्तले मुकुन्दराज शर्माका निबन्धमा भएको काव्यिक गुणले आफू प्रभावित भएको बताए । उनले र्‍यान्डमले पोखरामा बौद्धिक बहसको मञ्च सिर्जना गरेको बताउँदै यसले साहित्यिक तथा दार्शनिक क्षेत्रमा विशेष महत्त्व राख्ने बताए ।

निबन्धमै विद्यावारिधि गरेका डा. जीवलाल बस्यालले आफू शर्माका निबन्धसँग लामो समयदेखि परिचित रहेको बताउँदै उनका निबन्धमा पाइने छुट्टै स्वादले पाठक प्रभावित हुने गरेको अनुभव सुनाए ।

सोसाइटीका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले कृति विभिन्न फूलहरूको माला जस्तै सुन्दर बनेको भनाइ राखे । ससाना कुरामा पनि भावुक भएर निबन्ध लेख्नु शर्माको निबन्धगत वैशिष्ट्य भएको पौडेलले बताए ।

कान्तिपुर

Link copied successfully