काठमाडौँ — पत्रकारिता, जलवायु संकट र न्यू मिडियाको प्रभावका सम्बन्धमा छलफल गर्न आयोजित ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आजदेखि सुरू हुँदैछ ।
समिटको शनिवार बिहान काठमाडौँमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि पोखरा र मुस्ताङमा समिटअन्तर्गतका विभिन्न अन्तरक्रिया र छलफल गर्दै आगामी मंगलबार सम्पन्न हुने छ ।
नेपाल प्रेस युनियनले गरेको समिटमा दक्षिण एसियाली विभिन्न देशहरूसहित करिब एक सय ५० जना पत्रकार, जलवायु विज्ञ र नागरिक अगुवाहरूको सहभागिता रहने छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जलवायु परिवर्तन संकट र मिडियाको भूमिकालाई केन्द्रमा राखेर ती विषयमा छलफल गर्न समिटको आयोजना गरिएको बताए ।
उनका अनुसार समिटमा जलवायु र सञ्चार प्रविधिसहित बहुआयामिक क्षेत्रमा भएको परिवर्तन तथा त्यसबाट निम्तिएका अवसर र चुनौतीका विषयमा छलफल हुने छ ।
बदलिँदो विश्व परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नुपरेका समस्या, पत्रकारिताको प्रभावबारेमा समिटमा छलफल हुने अध्यक्ष लम्सालले बताए ।
समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नुपरेका कठिनाइ, अवसर र चनौतीका सन्दर्भमा विज्ञहरूको प्रस्तुती तथा छलफल कार्यक्रम राखिएको छ । त्यस्तै, ‘जलवायु सङ्कट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ तथा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता : अभ्यास तथा चुनौती’ लगायत विषयहरूमा केन्द्रीत विज्ञहरूका कार्यपत्रहरू प्रस्तुत हुने छन् ।
