काठमाडौँ — साहित्यकार बीएन जोशीको संस्मरणकृति ‘श्रमाटन’माथि विमर्श सम्पन्न भएको छ । ‘श्रमाटनः संवाद’मा सहभागी कवि-लेखक शकुन्तला जोशीले झण्डै तीन दशकअघिको कष्टपूर्ण यथार्थलाई पुस्तकले मार्मिक तवरले प्रस्तुत गरेको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘हिजोआज मलेसिया जान सजिलो छ । तर तीन दशकअघि मलेसिया छिर्न खोज्दा बीएन जोशीले झण्डै ज्यानै गुमाउनु परेको थियो । मलेसिया लगायत विभिन्न खाडी मुलुकमा भोग्नुपरेको कष्टपूर्ण र मार्मिक यथार्थलाई श्रमाटनले समेटेको छ ।’
पुस्तक पढ्दा आफूलाई ‘लाइफ अफ पाई’ को झझल्को आएको पनि जोशीले औंल्याइन् । यासाः समूहले राजधानीमा गरेको कार्यक्रममा अर्का टिप्पणीकार अभय श्रेष्ठले ‘श्रमाटन’ नेपाली युवाहरूको साझा जीवन भोगाइको प्रामाणिक दस्तावेज भएको बताए ।
‘श्रमाटनमा वैदेशिक रोजगारीका लागि मलेसिया छिर्ने क्रममा बीएन जोशीले पाएको हण्डर र ठक्करको फेहरिस्त छ । यो उनले खाडी मुलुकमा काम गर्दाका व्यक्तिगत भोगाइको सङ्गालो हो तथापि यसले आम नेपाली युवाहरूको साझा भोगाइलाई प्रतिनिधित्व गर्छ,’ यो पुस्तक आद्योपान्त पठनीय रहेको उनले सुनाए ।
कार्यक्रममा समीक्षक राजकुमार बानियाँले वैदेशिक रोजगारीको सिलसिला नरोकिएसम्म ‘श्रमाटन’को सान्दर्भिकता रहिरहने बताए भने समीक्षक कुमारी लामाले पुस्तकमा दुःख र कष्ट मात्र नभएर रमाइला प्रसंग पनि समेटिएको औंल्याइन् ।
कार्यक्रममा लेखक बीएन जोशीका साथै बैंकर डा. बुद्धि मल्ल, शैलेन्द्र अधिकारी, अमृत भादगाउँले, जगदीश भेटवाललगायतले आ–आफ्ना धारणा राखेका थिए । नेपाली श्रमिक युवाको कारुणिक भोगाइको जीवन्त प्रस्तुति रहेको ‘श्रमाटन’ नेपाली र अंग्रेजी भाषामा प्रकाशित छ ।
