इन्जिनियरिङ नवप्रवर्तन र उद्यमशीलताबारे युवा बहस

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

Youth debate on engineering innovation and entrepreneurship

काभ्रे — नेपालको भविष्य निर्माणमा इन्जिनियरिङ र उद्यमशीलताको भूमिकालाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय सिभिल इन्जिनियरिङ क्लबले 'इन्जिनियरिङ नवप्रवर्तन र उद्यमशीलता : नीति, अभ्यास र उद्यममार्फत नेपालको भविष्य निर्माण' विषयमा बहस गरेको छ । 

उक्त बहसमा सानिमा माई हाइड्रोपावरका सीईओ डा. सुवर्ण दास श्रेष्ठले नेपालमा प्रभावकारी इन्जिनियरिङ परियोजना कार्यान्वयन गर्न सार्वजनिक-निजी साझेदारी मोडेलको महत्वबारे चर्चा गरे । साथै, उनले नयाँ स्नातकहरूले कम्तीमा दुई वर्ष नेपालमै काम गरी अनुभव सङ्कलन गर्नु आवश्यक रहेकोमा जोड दिए ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. रमेशकुमार मास्केले नेपालले हाल जीडीपीको केवल ०.३ प्रतिशत मात्रै अनुसन्धान र विकासमा विनियोजन हुने गरेको बताउँदै कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान र नवप्रवर्तनमा छुट्याउन माग गरे । बजारको माग र शैक्षिक संस्थाहरूको उत्पादनबीच खाडल पूर्ति गर्नुपर्ने र विश्वविद्यालयहरूले अनुसन्धान तथा नवप्रवर्तनमार्फत उद्यमशीलता प्रवर्द्धन गर्न सक्रिय भूमिका खेल्नुपर्ने कुरामा उनले जोड दिए ।

सिभिल इन्जिनियर तथा उद्यमी मिलन पाण्डेले जटिल र अप्ठ्यारा नीतिले उद्यमशीलता र नवप्रवर्तनमा कसरी समस्या सिर्जना गर्छन् भन्नेबारे चर्चा गरे । इन्जिनियरहरूको दक्षता विभिन्न क्षेत्रहरूमा विस्तार भएको उल्लेख गर्दै, नेतृत्व क्षमता, संवाद कौशल र सौम्य सीपहरू विकास गर्नुपर्ने आवश्यकतामा उनले  जोड दिए ।

आर्किटेक्ट तथा पूर्व मिस नेपाल शृङ्खला खतिवडाले महिला नेतृत्व र उद्यमशीलतालाई अगाडि ल्याएर देशको विकास प्रवर्द्धन गर्नुपर्ने बताइन् । उनले विश्व बजारमा प्रतिस्पर्धा गर्न तथा बदलिँदो प्रविधिसँग आफूलाई समायोजन गर्नुपर्ने आवश्यकता औंल्याइन् । युवा इन्जिनियरलाई सिर्जनात्मक सोच विकास गर्दै देशको भविष्य निर्माणमा जिम्मेवार भूमिका खेल्न उनले प्रेरित गरिन् ।

सिभिल इन्जिनियरिङ क्लबका सचिव युजन राजभण्डारीले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीहरूले वक्ताहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए ।राष्ट्रिय युवा परिषद्को सहकार्यमा भएको कार्यक्रममा २५० भन्दा बढी विद्यार्थी, प्राध्यापक र युवाको सहभागिता थियो ।

कान्तिपुर

Link copied successfully