नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित प्रदर्शनी वैशाख २८ गतेसम्म सञ्चालन

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

Book exhibition at Nepal Pragya-Pratishthan

काठमाडौँ — नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ। प्रदर्शनीको उद्घाटन ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित गरिएको हो। यो प्रदर्शनी वैशाख २८ गतेसम्म सञ्चालन हुने बताइएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीका अनुसार प्रदर्शनीमा नेपाली भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र, समाजशास्त्रलगायतका पुस्तकहरू राखिएका छन्। उनले भने, 'प्रदर्शनीमा २०७० सालअघि प्रकाशित पुस्तक र पत्रिकाहरू ६० प्रतिशत छुटमा, २०७१ सालयता प्रकाशित पुस्तकहरू खरिद गर्न विशेष ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ। शब्दकोषहरूमा समेत २० देखि २५ प्रतिशतसम्म छुट दिइएको छ।'

सदस्य सचिव सुवेदीले थपे, 'हामीले प्रतिष्ठानमा पुस्तकहरूको बिक्रीको लागि समय समयमा पुस्तक प्रदर्शनीहरू गर्ने गरेका छौं। विशेष गरी नयाँ वर्षको अवसरमा र अन्य समयमा पनि हामी पुस्तक प्रदर्शनी गर्छौं।'

प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसोको कन्फेसन्स, ईषादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल जस्ता बहुमूल्य कृतिहरू राखिएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully