जापानमा नेपाली नाटक ‘लाइफ अफ ह्युमन बडी’ मञ्चन

वैशाख २, २०८२

दीपक परियार

Nepali drama 'Life of Human Body' staged in Japan

पोखरा — पोखराको इन्द्रेणी थिएटरले तयार पारेको नाटक ‘लाइफ अफ ह्युमन बडी’ पहिलोपल्ट जापानमा मञ्चन गरिएको छ । जापानको टोकियोस्थित इताबासीमा सबटेरानियन थिएटरको आयोजनामा आइतबार र सोमबार उक्त नाटक मञ्चन गरिएको हो । 

केदार पौडेलको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा किरण चापागाईंको एकल अभिनय रहेको छ । इताबासीमा रहेको भूमिगत थिएटरमा आइतबार दुईपल्ट र सोमबार एकपल्ट नाटक मञ्चन गरिएको निर्देशक पौडेलले बताए । उनका अनुसार नाटकले मानव जीवनको भ्रुण अवस्थाबाट मृत्युसम्म र त्यसपछि पुनर्जन्मतर्फको यात्रालाई शारीरिक भाषाबाट अभिव्यक्त गरेको छ ।

संवादरहित नाटकमा शरीरको माध्यमबाट मानव जीवनका विभिन्न अवस्थालाई प्रतिबिम्बन गरिएको छ । नाटकमा निर्देशक पौडेलले सारंगीको संगीतमा पार्श्वध्वनी प्रस्तुत गरे । ‘यो नाट्यकृति मानव जीवनचक्रको एक गहिरो दार्शनिक तथा प्रयोगात्मक अन्वेषण हो, गर्भाधानदेखि मृत्यु अनि पुनर्जन्मसम्मको यात्रालाई कलात्मक रुपमा समेटिएको छ,’ उनले भने, ‘नाटक हेरिरहँदा जीवनका विविध चरणहरू–जन्म, बाल्यकाल, यौवन, बुढ्यौली र मृत्युको अनुभव गराउँछ ।’

Nepali drama 'Life of Human Body' staged in Japanनाटकले सृष्टिको मौलिक लयसँग जोडिँदै जीवनका अनगिन्ती लहरहरूलाई अंगाल्न र अस्तित्वको निरन्तरता भित्र शान्तिको खोजीमा मानिसलाई मार्गदर्शन गर्ने उद्देश्य राखेको उनले सुनाए । भने, ‘यो केवल एउटा नाटक होइन, यो एक ध्यान हो, एक सन्देश हो, अनि एउटा आत्मिक यात्रा हो ।’

नाटक प्रदर्शनपछि आयोजित अन्तरक्रियामा जापानी दर्शकले शरीरको भाव र ध्वनिको माध्यमले गहिरो प्रभाव पारेको प्रतिक्रिया दिएका थिए । उनीहरुले नेपाली संवादसहितको संस्करण हेर्न चाहेको बताएका थिए । 

उक्त नाटक नेपालीद्वारा सञ्चालित म्याक्स इन्टरनेन्मेन्टको आयोजनामा नयाँ वर्षको अवसरमा सोमबार टोकियोकै नाकानो जिरो हलमा मञ्चन गरिएको छ । जापानकै अन्य सहरमा पनि नाटक मञ्चनको प्रयास भइरहेको इन्द्रेणी थिएटरका अध्यक्ष समेत रहेका पौडेलले बताए ।

Nepali drama 'Life of Human Body' staged in Japanथिएटरले दुई वर्षअघि पौडेलकै लेखन, निर्देशन र अभिनय रहेको नाटक ‘भ्रुण’ को मञ्चन पनि जापानमा गरेको थियो । उनले हालसम्म ७ वटा नाटकको लेखक र ५ वटाको निर्देशन गरिसकेका छन् । इन्द्रेणी थिएटरबाट नाटक मञ्चनका लागि उनी विभिन्न देश पुगेका छन् । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully