काठमाडौँ — वरिष्ठ संगीतकार एवं बेस गिटारिस्ट सुवर्ण लिम्बूलाई रेडियो कान्तिपुरले 'सलाम ज्यूँदो इतिहास'लाई कार्यक्रमको नयाँ अंकमा शनिबार सम्मान गरेको छ । जीवनको ५ दशक अनवरत रुपमा नेपाली सुगम संगीतको उत्थान र प्रवर्धनमा लागि परेको भन्दै लिम्बूलाई रेडियोले सम्मान गरेको हो ।
रेडियो कान्तिपुरको प्रांगण तीनकुनेमा आयोजित कार्यक्रममा स्टेसन म्यानेजर पवन आचार्यले लिम्बूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । पुराना स्रष्टालाई जीवन छँदै सम्मान गर्ने परम्पराको थालनीको रुपमा सलाम ज्यूँदो इतिहास कार्यक्रम रहेको आचार्यले बताए ।
सन् १९७० मा पहिलोपटक रेडियो नेपालमा गोपाल योञ्जनको संगीत र इन्दिरा मास्केको स्वरमा रहेको गीतमा गिटार बजाएर सांगितिक यात्रा शुरु गरेका लिम्बू त्यसपछि बेस गिटार वादनमा कहिलए । हुन पनि त्यतिबेला बेस गिटार हुने उनी एक्ला संगीतकार र वाद्यवाधक थिए ।
उनको पहिलो रेकर्डेड गीत भने पवन गोलेको स्वर र शिवशंकर थापाको शब्द रहेको 'हावासँग बगु भन्छ' भन्ने हो । ४० को दशकमा रेकर्ड भएको सोही गीतबाट उनी एकाएक चर्चामा रहे । हजारौं गीतमा बेस गिटार बजाएका लिम्बूले नारायण गोपाल र गोपाल योञ्जनदेखि ओमविक्रम विष्ट र सुनिल उप्रेतीसम्मका गीत कम्पोज गरेका छन् । आफ्ना पुराना गीतहरु आर्काइभमा नरहेको भन्दै लिम्बू अहिले तिनलाई पुनः रेकर्ड गर्ने काममा पनि लागेका छन् ।
हङकङमा जन्मिएका सुवर्ण ब्रिटिस लाहूरे पिताले गिटार किनि दिएपछि संगीतमा आकर्षित भएका हुन् । पढाइको सिलसिलामा दार्जिलिङमा हुँदा डायमण्ड र कोलकातामा ब्रदरहुड ब्याण्ड आवद्ध भएका लिम्बूले पछि किशोर गुरुङ र देव रानासँग मिलेर प्रिजम ब्याण्ड खोले । हालसालै मात्रै बेलायतमा कन्सर्ट गरेर फर्किएका लिम्बूलाई फेरि एकपटक पुरानो प्रिजम ब्याण्डका साथ नेपालमै कन्सर्ट गर्न मन छ । उनले भने, 'अब पहिलेका साथीहरु तितरबितर भए । उमेर पनि ढल्किसक्यो । एकपटक सबै मिलेर एउटा कन्सर्ट गरौं भन्ने मनमा छ ।'
उनलाई बच्चु कैलाश र माणिक रत्नको गीतमा गिटार बजाउन नपाएकोमा पछुतो छ । भन्छन्, 'उतिबेला समय छँदै बजाएको भए हुन्थ्यो होला । पछि उहाँले गाउन छोड्नु भयो । रेडियो नेपाल छिर्दिन भनेर माणिरत्नले घोषणा नै गर्नुभयो । उहाँहरुको गीतमा बजाउन नपाएकोमा पछुतो छ ।'
उनी आफूलाई कम्पोजर भन्दा पनि गिटारिस्ट मान्छन् । 'मेरा सयौं गीतहरु छन् । तर मलाई आफूले सिर्जना गरेको गीतभन्दा पनि बेस गिटारिस्टका रुपमा श्रोताले चिनुन् भन्ने लाग्छ ।,' उनले भने ।
'सलाम ज्यूँदो इतिहासलाई' कार्यक्रममा लिम्बूका हावासँगै, आजाद भएर हेर, हलचल भो, सागरझैं गहिरो र छाडिजनो मायालुको यति धेरै माया बोलको गीत छिरिङ भुटिया, समृद्धि परियार, दिनेश महर्जन र समीक्षा दाहालले प्रस्तुत गरेका थिए ।
