कास्की — गायिकाद्वय तारादेवी र अरुणा लामाका कालजयी गीतमार्फत पोखरामा उनीहरुको सम्झना गरिएको छ । शनिबार साँझ पोखरेली महिला कलाकारको साझा संस्था ‘हार्मेनी’ र एभरेष्ट एफएमले तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ गरेका हुन् ।
हार्मेनीका कलाकारले ‘देवी बन्दना’ गाएपछि सांगीतिक माहोल अघि बढ्यो । देवी गुरुङले अरुणा लामाको ‘उडी जाऊँ भने’, लक्ष्मी गिरीले तारादेवीको ‘काली पारे दाइ कति राम्रो’ एलिना गुरुङले अरुणाको ‘भेटिनु छुटिनु त के हो र’ गीत गाउँदा पुराना गीतमा दर्शक झुमे । रजनीरिदम राईले प्रेमिल जोडीप्रति समर्पित तारादेवीको ‘फूलै फूलको मौसम तिमीलाई’, कौशल्या गुरुङले ‘यति धेरै माया दिई’ गाउँदा दर्शक नोस्टाल्जिक बने ।
गायिका ईतु जोजिजूले तारादेवीको ‘उकाली–ओरालीहरुमा’ गाउँदा दर्शकले पनि साथ दिए । ईतुले श्रीमान् रामभक्तसँग एकसाथ तारादेवीको स्वर रहेको ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकले ताली बजाइरहे । अर्की गायिका शीतल थापाले तारादेवीको ‘साँगुरी बारी नि हौ’, सीतल–रामभक्तले युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ र मितु पालले तारादेवीको ‘तिम्रा पाउहरुमा म’ गाए ।
काठमाडौंका महिला गायिकाको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष गायिका संगीता राना प्रधानले अरुणा लामाको ‘फूललाई सोधें’ गाइन् । बोबी सुनारले ‘पोहोर साल खुसी’ गीतको धुन सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाइन् । हार्मेनीका कलाकारले समूहगानतर्फ ‘यो मायालाई भरोसा छैन’, ‘हाम्रो साहेब’ (माया–प्रीति चलचित्रबाट) र ‘सुङावाजस्तो जीवन’ (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाए ।
गायिका अरुणा लामा र तारादेवीको सम्झनामा पोखरामा ०७९ सालदेखि हार्मोनी र एभरेष्ट एफएमले सांगीतिक साँझ गर्दै आएका छन् । विगतजस्तै यस वर्ष पनि माघ तेस्रो शनिबार कार्यक्रम गर्ने तयारी थियो । हार्मोनीका सदस्य तबलावादक सञ्जिव पालको निधन भएपछि कार्यक्रम स्थगित गरेर शनिबार गरिएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।
