सेहोनाम्लाङ सांस्कृतिक पर्यटन महोत्सवमा वैरागी काइँलालाई नागरिक अभिनन्दन

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Citizen salute to Vairagi Kaila at Sehonamlang Cultural Tourism Festival

पाँचथर — 'सेहोनाम्लाङ सांस्कृतिक पर्यटन महोत्सव २०८१' मूल आयोजक समितिले मुन्धुमविद्, संस्कृतिकर्मी तथा साहित्यकार वैरागी काइँलालाई नागरिक अभिनन्दन गरेको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ र फाल्गुनन्द गाउँपालिका-५ को संगमस्थल सिङहाङ, गैरीगाउँमा चैत २४ देखि २७ सम्म आयोजित चारदिने सांस्कृतिक पर्यटन महोत्सवको अवसरमा काइँलालाई नागरिक अभिनन्दन गरिएको हो । 

महोत्सवको अन्तिम दिन आयोजित नागरिक अभिनन्दन कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले काइँला र उनकी धर्मपत्नी देवकुमारी आङ्देम्बे नेम्बाङलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । मूल आयोजक समितिका अध्यक्ष डिएम आङ्देम्बेले काइँलालाई अभिनन्दनपत्र हस्तान्तरण गरे ।

Citizen salute to Vairagi Kaila at Sehonamlang Cultural Tourism Festival

काइँलाको सपरिवार उपस्थित अभिनन्दन कार्यक्रममा राजनीतिज्ञ तथा साहित्यकार धर्मेन्द्र नेम्बाङले काइँलाको जीवनी र योगदानबारे मन्तव्य राखेका थिए । 

सांस्कृतिक झाँकीसहितको सम्मान र्‍यालीबाट सुरु भएको काइँलाको अभिनन्दन कार्यक्रममा ख्याली, हाक्पारे, धाननाच, केलाङ, साकेला सिली र सांस्कृतिक नृत्य प्रस्तुत गरिएका थिए । 

कोशी प्रदेश प्रमुख विपक्षी दलका नेता इन्द्र आङ्बोले उद्घाटन गरेको महोत्सवमा भलिबल प्रतियोगिता, केलाङ प्रतियोगिता र नृत्य प्रतियोगितासहित विभिन्न सांस्कृतिक प्रस्तुति गरिएका थिए । महोत्सवमा मोहनचन्द्र चेम्जोङद्वारा लिखित तथा संकलित किताब 'खाउमा मुन्धुम, युङ्सा चोक्मा' (चोखिने विधि) पनि विमोचन गरिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully