वैविध्य सांस्कृतिक झाँकी, नेवारको लाखे–नाच, लिम्बूको केलाङ नाच, राईको साकेला सिलि नाच, तामाङको डम्फू सेलो नाच, शेर्पाको स्याब्रु नाचले राँके महोत्सवमय
पाँचथर — पाँचथरको राँकेमा कवि बैरागी काइँलालाई सैयौं नागरिकद्वारा नागरिक अभिनन्दन गरिएको छ । फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान, फाल्गुनन्द गाउँपालिका फाक्तेप, पाँचथरको आयोजनामा काइँलालाई नागरिक अभिनन्दन गरिएको हो ।
अभिनन्दनलगत्तै कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले फाल्गुनन्द साहित्य महोत्सव– २०८१ को शुभारम्भ गरेका थिए । जीवन र जगत्माथि काइँलाको कि–नोट स्पिचमा उनले पाँचथरको उबेलाको शिक्षा, बाटो, विकासबारे बोलेका थिए । पाँचथरबाट संघर्ष गर्दै कसरी उनी सहर पुगे अनि कविता र मुन्धुममा आफ्नो बाटो मोडियो भन्नेबारे लामो प्रवचन पनि दिएका थिए ।
चैत्र २५ र २६ फाल्गुनन्द गाउँपालिका राँके बजार वैविध्य सांस्कृतिक झाँकी, नेवारको लाखे–नाच, लिम्बूको केलाङ नाच, राईको साकेला सिलि नाच, तामाङको डम्फू सेलो नाच, शेर्पाको स्याब्रु नाचले महोत्सवमय बनेको थियो । सहरको चहलपहल र उत्सव बेग्लै थियो ।
फाल्गुनन्द गाउँपालिकाकी गायिका मनु नेम्वाङले आफ्ना गीतहरू गाएकी थिइन् । ‘पाँचथरको गाडी राँकेलाई छाडी गयो नि घुमेर’, ‘सिलौटीमा हावा सरर’, ‘कहाँको सोल्टिज्यू भेटैमा भयो’, ‘घाँस काट्नु पखेरीमा’ लगायत उनका गीतमा दर्शकहरू उनीसँगै नाचेका थिए ।
‘कविता कस्तो हुनुपर्छ ?’ सेसनमा कवि श्रवण मुकारूङ, सुन्दर कुरुप, प्रकाश थाम्सुहाङ र मुनाराज शेर्माले बहस गरेका थिए । त्यस सेसनमाथि पत्रकार दीपक सापकोटाले टिप्पणी गरेका थिए ।
कविता सेसनपछिको कविता–वाचन कार्यक्रममा कवि गजेन्द्र राई ‘जमीन’, वियोगी काइँला, श्रवण मुकारुङ, दीपक सापकोटा, स्वप्निल स्मृति, लीला अनमोल, सुन्दर कुरुप, प्रकाश थाम्सुहाङलगायतले कविता वाचन गरेका थिए ।
‘पर्यटन, पर्यावरण र साहित्य’ शीर्षकमा साहित्यकार देवेन्द्र शक्तेनले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । ‘समृद्ध फाल्गुनन्द गाउँपालिका कृषि पर्यटन पूर्वाधार विकास र शिक्षा’ सेसनमा बहस गरेका थिए– फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्वे र उपाध्यक्ष ठाकुरसिं नेम्बाङले ।
‘महोत्सवले देशभरिका लेखक–साहित्यकारको भेला गरायो र उनीहरूका सिर्जना राँकेबासीले सुन्न पाए, त्यो यो महोत्सवको सुन्दर पक्ष रह्यो’, फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य गजेन्द्र राई ‘जमीन’ ले भने ।
‘यस्तो महोत्सवले हामीलाई आफ्नो पहिचान–बोध गराउँछ र बौद्धिक विमर्शतिर पनि ध्यान मोडिन्छ,’ फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका कुलपति समदर्शी काइँलाले भने ।
