राँकेको फाल्गुनन्द साहित्य महोत्सवमा बेग्लै सांस्कृतिक झाँकी

वैविध्य सांस्कृतिक झाँकी, नेवारको लाखे–नाच, लिम्बूको केलाङ नाच, राईको साकेला सिलि नाच, तामाङको डम्फू सेलो नाच, शेर्पाको स्याब्रु नाचले राँके महोत्सवमय

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

A unique cultural tableau at Falgunanda Literature Festival in Ranke

पाँचथर — पाँचथरको राँकेमा कवि बैरागी काइँलालाई सैयौं नागरिकद्वारा नागरिक अभिनन्दन गरिएको छ । फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान, फाल्गुनन्द गाउँपालिका फाक्तेप, पाँचथरको आयोजनामा काइँलालाई नागरिक अभिनन्दन गरिएको हो ।

अभिनन्दनलगत्तै कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले फाल्गुनन्द साहित्य महोत्सव– २०८१ को शुभारम्भ गरेका थिए । जीवन र जगत्‌माथि काइँलाको कि–नोट स्पिचमा उनले पाँचथरको उबेलाको शिक्षा, बाटो, विकासबारे बोलेका थिए । पाँचथरबाट संघर्ष गर्दै कसरी उनी सहर पुगे अनि कविता र मुन्धुममा आफ्नो बाटो मोडियो भन्नेबारे लामो प्रवचन पनि दिएका थिए । 

A unique cultural tableau at Falgunanda Literature Festival in Ranke

चैत्र २५ र २६ फाल्गुनन्द गाउँपालिका राँके बजार वैविध्य सांस्कृतिक झाँकी, नेवारको लाखे–नाच, लिम्बूको केलाङ नाच, राईको साकेला सिलि नाच, तामाङको डम्फू सेलो नाच, शेर्पाको स्याब्रु नाचले महोत्सवमय बनेको थियो । सहरको चहलपहल र उत्सव बेग्लै थियो ।

फाल्गुनन्द गाउँपालिकाकी गायिका मनु नेम्वाङले आफ्ना गीतहरू गाएकी थिइन् । ‘पाँचथरको गाडी राँकेलाई छाडी गयो नि घुमेर’, ‘सिलौटीमा हावा सरर’, ‘कहाँको सोल्टिज्यू भेटैमा भयो’, ‘घाँस काट्नु पखेरीमा’ लगायत उनका गीतमा दर्शकहरू उनीसँगै नाचेका थिए ।  

A unique cultural tableau at Falgunanda Literature Festival in Ranke

‘कविता कस्तो हुनुपर्छ ?’ सेसनमा कवि श्रवण मुकारूङ, सुन्दर कुरुप, प्रकाश थाम्सुहाङ र मुनाराज शेर्माले बहस गरेका थिए । त्यस सेसनमाथि पत्रकार दीपक सापकोटाले टिप्पणी गरेका थिए । 

A unique cultural tableau at Falgunanda Literature Festival in Ranke

कविता सेसनपछिको कविता–वाचन कार्यक्रममा कवि गजेन्द्र राई ‘जमीन’, वियोगी काइँला, श्रवण मुकारुङ, दीपक सापकोटा, स्वप्निल स्मृति, लीला अनमोल, सुन्दर कुरुप, प्रकाश थाम्सुहाङलगायतले कविता वाचन गरेका थिए ।

A unique cultural tableau at Falgunanda Literature Festival in Ranke

‘पर्यटन, पर्यावरण र साहित्य’ शीर्षकमा साहित्यकार देवेन्द्र शक्तेनले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । ‘समृद्ध फाल्गुनन्द गाउँपालिका कृषि पर्यटन पूर्वाधार विकास र शिक्षा’ सेसनमा बहस गरेका थिए– फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्वे र उपाध्यक्ष ठाकुरसिं नेम्बाङले । 

A unique cultural tableau at Falgunanda Literature Festival in Ranke

‘महोत्सवले देशभरिका लेखक–साहित्यकारको भेला गरायो र उनीहरूका सिर्जना राँकेबासीले सुन्न पाए, त्यो यो महोत्सवको सुन्दर पक्ष रह्यो’, फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य गजेन्द्र राई ‘जमीन’ ले भने । 

A unique cultural tableau at Falgunanda Literature Festival in Ranke

‘यस्तो महोत्सवले हामीलाई आफ्नो पहिचान–बोध गराउँछ र बौद्धिक विमर्शतिर पनि ध्यान मोडिन्छ,’ फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका कुलपति समदर्शी काइँलाले भने ।  

कान्तिपुर संवाददाता

Link copied successfully