मधेश साहित्य महोत्सवमा 'माटी मन्थन' 

चैत्र २२, २०८१

शंकर आचार्य

'Mati Manthan' at Madhesh Literature Festival

वीरगन्ज — मधेशको माटोले बोकेको उर्वरता र मलिलोपन तीव्र रूपमा ह्रास हुँदै गएकोमा सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । शुक्रबारदेखि वीरगन्जमा सुरु भएको मधेश महोत्सवको सुरुवातमै मधेशको माटोको बढी चर्चा भयो ।

उत्कर्ष नेपालको आयोजनामा भइरहेको महोत्सवको नारा नै ‘माटी मन्थन : सपनाको बेर्ना जोगाउन साहित्य’ रहेको छ । उद्घाटन सत्रपछि विश्लेषक सीके लालले ‘माटोको सुगन्ध’ सत्रमा १ घण्टा मधेश र मधेशको माटोको चर्चा गरे ।

‘सारा सृष्टि यही माटोमा छ,’ उनले भने, ‘कुनै समय राजनीतिको केन्द्र सिम्रौनगढ थियो र ४ हजार वर्षअघि पनि वीरगन्ज आर्थिक राजधानी नै थियो ।’ उनले सत्यलाई शक्तिले दमन गर्न सके पनि साहित्यलाई कसैले दमन गर्न नसक्ने बताए । तथ्यबाट सत्यलाई जोगाउन साहत्यमा लाग्नु पर्ने उनको सुझाव थियो । ‘माटोबाट माटीमा जाने हो, माटो स्रोत हो, माटो उर्जा हो,’ उनले भने, ‘ऊर्जालाई रुपान्तरण गर्न सकिन्छ, मार्न सकिँदैन, यो ऊर्जालाई साहित्यमा लगाऔं ।’

मधेशको भाषाको साहित्य श्रृजना अझै कम रहको चर्चा गर्दै लालले भोजपुरीमा उत्तर आधुनिक साहित्यमार्फत नयाँ सर्जकहरुले साहित्य श्रृजना गर्न सक्ने पनि बताए । शकुन्तला जोशी सजहकर्ता रहेको दोस्रो सत्र ‘माटोको सुगन्ध जीवनको रंग’ मा निख्खर माटोकै चर्चा गर्न माटोसँग खेल्ने र रमाउने अभियानीहरूलाई मञ्चमा निम्त्याइयो । सिन्धुलीका कृष्णप्रसाद पौडेल, सिरहाका सुदर्शन चौधरी र कैलालीका लक्ष्मण थारुलगायतले माटोसँगको आआफ्नो नाताबारे खुलेर बोले ।

'Mati Manthan' at Madhesh Literature Festivalपौडेलले माटो नरहे जीवन नरहने बताए । ‘माटो मर्दै छ, हामी मर्न तयार हुनुपर्छ,’ उनले भने, ‘१ ग्राम माटोमा एउटा मानिसको शरीर भन्दा बढी जिवाणु हुन्छ, माटो मर्‍यो भने हामी बाँच्न सक्दैनौं ।’ अर्गानिक खेतीका अभियन्ता लक्ष्मण थारुले कुनै समय आफूले बमबारुद बोकेर थुप्रै आन्दोनल गरे पनि १३ बर्षयता व्यवसायिक अर्गानिक खेती गरिरहेको बताए । ‘माटो मर्‍यो भने यो संसारको के होला,’ उनले भने, ‘माटो मार्ने युरिया र डिएपी हामी बर्षेनी सात समुन्द्र पारिबाट ल्याइरहेका छौं, अब यो रोक्नु पर्छ ।’ अर्का अर्गानिक खेतीका अभियन्ता सुदर्शन चौधरीले मानिसको लोभलालच र जोहो गर्ने बानीले बर्सेनि माटो मर्दै गएको बताए । ‘अब माटो मार्ने होइन आध्यात्मिक खेती प्रणालीबाट खेती गर्नु पर्छ,’ उनले भने, ‘यसले अन्नको पोषण र शुद्धता बढाउँछ ।’ माटो स्वस्थ्य भए मात्र हामीले स्वस्थ अन्न खाने उनले बताए ।

मधेशको सामाजिक, सांस्कृतिक र साहित्यिकलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने महोत्सवमा तराई–मधेशका २२ जिल्लाको साहित्य, भाषा, कला र संस्कृतिलाई समेटने प्रयास गरिएको आयोजकले जनाएको छ । महोत्सवमा भोजपुरी, मैथली, अवधि, थारु, मारवाडी, उर्दू, हिन्दी भाषाका साथै नेपाली र नेवारी भाषाका साहित्यकार, कवि, कलाकार, चित्रकार, विश्लेषक, स्तम्भकार, लेखक, सर्जकलगायतले आफ्ना सृजना, कला, विचार र अनभुव प्रस्तुत गरिरहेका छन् ।

महोत्सवमा हरि शर्मा, मोहन मैनाली, स्नेह सायमी, लक्ष्मी माली, भोला पासवान, कृष्णप्रसाद सर्वहारी, विजयकान्त कर्णलगायतका साहित्यकार, स्तम्भकार, विश्लेषक, सर्जक पनि सहभागी छन् । वीरगन्जस्थित मधेश विश्वविद्यालयको प्रांगणमा भइरहेको महोत्सवमा दुई दिनमा १० वटा सत्र सन्चालन हुनेछन् । शनिबार सामूहिक किताब विमोचन, मधेशको लोककला, संस्कृति, भाषा, साहित्य सम्बन्धि विभिन्न सत्र र साझ काव्य तथा सांगीतिक साझ आयोजना छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully