धरान — उपन्यासकार बालिका बान्तावाको हालै विमोचित उपन्यास ‘प्याउली’ नारीवादी उपन्यास भएको वक्ताहरुले बताएका छन् । कथाकार एवम् कवि विना थिङले प्याउलीमा आएकी मुख्य पात्र लादिम्पा अनुकूल पात्रका रुपमा स्थापित रहेको बताइन् । 'यो आख्यान हो किनकि चरित्रहरुलाई स्थापित गरिएको छ । न्यारेटरले सिधै नभनी चरित्रमार्फत स्थापित गरिएको छ,' उनले भनिन् । उपन्यासमा आएका अन्य दुई मुख्य पात्रचाहिँ प्रतिकूल पात्रको रुपमा आएको थिङले बताइन् ।
प्रशान्त र उप्मीहाङ पात्र स्वार्थप्रेरित देखिएको उनको भनाइ थियो । 'समाजमा यस्ता पुरुष पात्र हुन्छन् जसले सम्बन्धहरु स्थापित गर्न कुनै न कुनै स्वार्थ राखेका हुन्छन् । ती पात्रको रुपमा प्रशान्त र उप्मीहाङ आएका छन्,' उनले भनिन् ।
अर्की वक्ता अस्मिता विष्टले सम्बन्ध विच्छेदको घटनालाई हेर्दा नारी मनोविज्ञानलाई हेर्न जरुरी रहेको बताइन् । 'कुल २७ वटा च्याप्टरमा विभाजित उपन्यासको पहिलो च्याप्टरमै सम्बन्ध विच्छेदको कुरा आएको छ,' उनले भनिन् । नेपाली समाजमा सम्बन्धमा किन दरार आइरहेको छ भनी विश्लेषण गर्न यो उपन्यासले भूमिका खेल्न सक्ने उनले बताइन् । 'भोजपुर, झापा, काठमाडौँ हुँदै हङकङसम्मको परिवेशलाई सुन्दर ढंगले व्यक्त गरिएको छ,' उनले भनिन्, 'उपन्यासको अर्को उत्कृष्ट पक्ष भनेको भाषाको सरलता हो ।'
कलरव धरानको आयोजनामा कार्यक्रममा भएको हो । कार्यक्रममा कोशी प्रदेश सांसद मीना श्रेष्ठले सभाध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् भने उपन्यासकार बान्तावाले उपन्यासमा आएका विविध पक्षबारे बताएकी थिइन् ।
