नारायणगढमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

चैत्र १०, २०८१

रमेशकुमार पौडेल

International Theater Festival at Narayangadh

चितवन — जापान र नेपालका कलाकारको प्रस्तुति रहेको ४५ मिनेट लामो नाटक ‘कान्दता एन्ड शकुन्तला’ सकिएलगत्तै चितवनका नाट्यकर्मीले ‘बिम्बको भरिया’ देखाए ।

शनिबार साँझ दुईवटा नाटक प्रस्तुत भएको नारायणगढको नारायणी कलामन्दिरको प्रेक्षालयमा आइतबार र सोमबार पनि यो सिलसिला जारी नै रहने छ । जहाँ विदेशी नाट्यकर्मीले पस्कने फरक शैलीका नाटकसँग रमाउन पाइने छ । 

कला मन्दिरमा सुरु भएको ‘प्रथम चितवन अन्तर्राष्ट्रिय महोत्सव–२०८१’मा तीन दिनसम्म नेपालसहित भारत, जापान, इरान, लिथुवानिया र स्पेनका नाट्यकर्मीले नाटक देखाउने छन् । तरङ्ग नाट्य समूह, कर्मी चौतारी र नारायणी कलामन्दिरले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् । आइतबार आयोजकले नै एउटा नाटक प्रस्तुत गरेपछि लिथुवानिया र स्पेनका नाट्यकर्मीले संयुक्त नाटक 'अराइभ्ड' देखाउने छन् ।

International Theater Festival at Narayangadh'अराइभ्ड'पछि इरानी नाटक 'एन्टिगोन'  प्रस्तुत हुने छ । सोमबार सकिने महोत्सवमा भारतीय नाटक ‘तमासा’ मञ्चन हुनेछ । महोत्सवमा नेपालसहित ६ देशका ४० नाट्यकर्मीको जमघट हुने संयोजक देवकुमार श्रेष्ठले बताए । काठमाडौंमा मण्डला थियटरमा तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव भइरहेको छ । 

सोही महोत्सवमा सहभागी हुन काठमाडौं आएका विदेशका नाट्यकर्मी नारायणगढमा पनि नाटक लिएर आएका हुन् । ‘अन्तर्राष्ट्रिय स्तरका नाट्यकर्मीको जमघट र कला प्रस्तुति यहाँका दर्शकका लागि र हामी नाट्यकर्मीका लागि पनि फलदायी हुने छ भन्ने आशा छ । चितवनमा नाटक र रंगमञ्चको संस्कृति विकासमा यो महोत्सवले राम्रो भूमिका खेल्ने छ,’ महोत्सवका निर्देशक अञ्जान प्रदीपले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully