विद्यार्थीमाझ ‘अन्टार्कटिका’ विमर्श

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

Discussion on 'Antarctica' among students

काठमाडौँ — लेखक जीवा लामिछानेको नयाँ किताब ‘अक्षत अन्टार्कटिका’ माथि हिमालयन ह्वाइटहाउस कलेज, तीनकुनेमा शुक्रबार विमर्श गरिएको छ । कार्यक्रममा जीवाले विद्यार्थीहरूमाझ आफ्नो अन्टार्कटिका यात्राका सुख–दुःख र अनुभूति बाँडेका थिए । 

कार्यक्रममा लेखक जीवा लामिछाने र पत्रकार दीपक सापकोटाबीच ‘अक्षत अन्टार्कटिका’ माथि अन्तर्संवाद पनि गरिएको थियो ।  सन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्रा अनुभवलाई किताबमा लेखेको जीवाले सुनाए । 

अन्टार्कटिकाको अक्षत सुन्दरता, त्यहाँसम्म पुग्नुको लामो कथा, चिसो संसारको संस्मरण जीवाले विद्यार्थीहरूलाई साझा गरे । ‘अन्टार्कटिकाबारे हामी सानोमा जे सुन्थ्यौं, म त्यस्तै रोमाञ्च, कौतुहल, डर र उत्साह बोकेर त्यहाँ पुगेको थिएँ’, जीवाले भने, ‘म किताब लेख्ने सोचेरै अन्टार्कटिका गएको थिएँ, पछि धेरै किताबहरू र सन्दर्भ सामाग्री अध्ययन गरेपछि यो किताब लेखें ।’ 

कार्यक्रममा उनले अन्टार्कटिकामाथिको एन्ड्रयु डेन्टनको भनाइ विद्यार्थीलाई सुनाएका थिए । त्यो भनाइ थियो, ‘यदि अन्टार्कटिका संगीत हुन्थ्यो भने त्यो सायद मोजार्ट हुन्थ्यो । चित्रकारिता भएको भए माइकल एन्जेलो हुन्थ्यो र साहित्य भएको भए सेक्सपियर । तर, त्यहाँ पुगेपछि लाग्यो, ती सबैभन्दा माथिल्लो केही हो– अन्टार्कटिका ।’ आफ्नो अनूभूतिमा पनि अन्टार्कटिका एन्ड्रयुले भनेझैं रहेको जीवाले भनेका थिए ।

अन्टार्कटिकाका खोज अन्वेषकहरूलाई नै किताब समर्पण गरेका जीवाले विद्यार्थीमाझ अन्टार्कटिकाका अन्वेषक सर अर्नेस्ट स्याकलटनको डरमर्दो पुरानो यात्रा–कथा सुनाए । ‘सन् १९१५ मा अन्टार्कटिका पत्ता लगाउने यात्रामा निस्केका थिए स्याकलटन । ड्रेक प्यासेज पुगेपछि उनको जहाज दुर्घटना भयो, तर उनले हिम्मत नहारी अन्टार्कटिका पत्ता लगाउने धूनमा महिनौंसम्मको कठोर यात्रा गरिरहे र आफ्ना टिमका साथीहरूको उद्धार गरे,’ जीवाले भनेका थिए । उत्सुक र जिज्ञासु विद्यार्थीहरूले लेखक लामिछानेसँग पनि अन्टार्कटिकाबारे प्रश्नोत्तर गरेका थिए ।

कान्तिपुर

Link copied successfully