जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ सार्वजनिक

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Jiva Lamichhane's 'Intact Antarctica' released

काठमाडौँ — लेखक जीवा लामिछानेको नयाँ कृति ‘अक्षत अन्टार्कटिका’ सार्वजनिक भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा बुधबार आयोजित एक विशेष समारोहमा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतले पुस्तक लोकार्पण गरे । 

कार्यक्रममा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतबीच पुस्तकका विषयमा विशेष अन्तर्संवादसमेत गरियो । लेखक बस्नेतले पुस्तकले अन्टार्कटिकाको सौन्दर्य, अनुसन्धान र वातावरणीय सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए । ‘यो पुस्तक सीधा यात्रा संस्मरण होइन, रहस्यमय स्थानको रोचक शिल्प पनि हो,’ उनले भने, ‘यसको सरलता, भाषिक मिठास र उत्कृष्ट संयोजनले जोकसैलाई मोहनी लगाउँछ ।’

लामिछानेका यसअघि प्रकाशित कृतिभन्दा यो फरक शैलीमा लेखिएको पनि बस्नेतले जनाए । ‘यसमा लेखकले लेखनमा फरक शैली अपनाउनुभएको छ,’ उनले भने, ‘संस्मरणमा नयाँ प्रयोग गरेर पुस्तकको थप ओज बढाउनुभएको छ ।’ चिसो स्थानका कथा भए पनि यसले लेखनको न्यानोपन आभास गराउने बस्नेतको भनाइ छ ।

हिउँको साम्राज्य अन्टार्कटिका जानुअघि नै आफूले लेख्छु भनेर गएको र यात्राकै क्रममा २५ हजार शब्द लेखिसकेको लेखक जीवा लामिछानेले बताए । ‘म अन्टार्कटिका लेख्ने तयारीसाथ गएको थिएँ,’ उनले भने, ‘फर्किएर आएपछि केही स्रोतसामग्री अध्ययन गरें । र पुस्तक लेखनलाई तीव्रता दिइहालें ।’ त्यसैले पनि एक वर्ष हाराहारीको समयमा पुस्तक ल्याउन सम्भव भएको लामिछानेले जनाए ।

‘अक्षत अन्टार्कटिका’मा लेखकलेसन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्राका अनुभवहरू साझा गरेका छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully