इलाम — कवि श्रवण मुकारुङले संसारमा कवि र कवितामाथि नै षड्यन्त्र हुने गरेको बताएका छन् । इलाम साहित्य महोत्सवको चौथो संस्करणको 'कविताको पहिचान' सत्रमा बोल्दै उनले आवाज बन्द गर्न खोज्ने शासकबाट कविलाई खतरा हुने बताए ।
सहजकर्ता पत्रकार फणीन्द्र संगमले सोधे, 'कवितालाई पाठकबाट चुनौती छ या समीक्षकबाट ?' जवाफमा मुकारुङले भने, 'राम्रो कविता नलेख्ने कविबाटै चुनौती छ ।'
कवि अभय श्रेष्ठले समय चेतना, समाज, आफ्नो संस्कृति र स्थानीयता बोल्न सक्ने कविता शक्तिशाली बन्ने धारणा राखे । 'अहिलेका कवितामा आफ्नोपन छ । कविले आफ्नो जरा र जमिनको खोजी गरिरहेका छन्,' उनले भने, 'आत्मसम्मानका कविता आइरहेका छन् । यो सुखद पक्ष हो ।' उनले कविताका आलोचकप्रति कवि संकीर्ण बन्न नहुने बताए । 'हामी सहिष्णु हुनुपर्छ । आलोचकले सर्जकलाई बाटो देखाउन सक्छन्, तिनलाई नकार्न मिल्दैन ।'
अर्की वक्ता कवि मिश्र वैजयन्तीले कविताको जीवन्तता खोज्न गाउँ पस्नुपर्ने बताइन् । 'समाजलाई स्थानीयतादेखि वैश्विक चेतनासँग जोडेर लेख्न जरुरी छ,' उनले भनिन्, 'त्योसँगै आफ्नो इतिहास बुझाउँदै गाउँ र जीवनसँग जोडिन सक्नेगरी लेख्नुपर्छ ।'
लामो समयदेखि कविहरू सदैव प्रतिपक्षी भूमिकामा रहेको चर्चा गर्दै उनले सत्ताको खराबीविरुद्ध विशेष परिस्थितिमा कविको भूमिका देखिएको बताइन् ।
कवि मुकारुङले अहिलेको युगमा समालोचकलाई सिर्जनाले मान्न छाडेको बताए । 'अब पाठक र लोकले कविताको मूल्यांकन गर्छ । विद्वान् समालोचकले पनि काम त गरेका छन्, अब तिनले ठिक भनेको भन्दा बढी लोकले स्वीकारेको कविता नै उत्कृष्ट कविता हो ।'
