पाँचथर — पाँचथरको तुम्बेवा गाउँपालिकामा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा अछामका कवि हिक्मत रावल प्रथम भएका छन ।
प्रतियोगितामा सहभागी विभिन्न जिल्लाका २० जनालाई पछि पार्दै रावलले ५० हजार रुपैयाँ पुरस्कार राशिको कविता प्रतियोगितामा पहिलो स्थान सुरक्षित गरेका हुन् ।
यस्तै उदयपुरका जीवन आरोहीले दोस्रो र तेह्रथुमका भगिश्वर तेयुङले तेस्रो स्थान सुरक्षित गरे । प्रतियोगितामा दोस्रो हुनेलाई नगद २५ हजार र तेस्रो हुनेलाई १२ हजार ५ सय रुपैयाँ नगदसहित पुरस्कृत गरियो ।
प्रथम ऐतिहासिक तुम्बेवा महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पहिलो चरणमा प्राप्त भएका १ सय ३१ मध्ये छनौटमा परेका २१ जना कवि कविता वाचनमा सहभागी थिए ।
प्रतियोगिता कोर्काली अध्ययन केन्द्रले आयोजना गरेको थियो । निर्णायकको भूमिका रमेश शभेच्छु र स्रष्टाद्वय मुनाराज सेर्मा र सुमित्रा वाङ्देलले निर्वाह गरेका थिए ।
पुरस्कृत स्रष्टालाई प्रमुख अतिथिको आसनबाट गाउॅपालिका अध्यक्ष बाबुराम खड्काले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
