लामिछानेसँग ‘अन्टार्कटिका संवाद’

फाल्गुन २६, २०८१

रमेशकुमार पौडेल

”Antarctica Dialogue” with Lamichhane

चितवन — हाल जर्मनीमा बस्दै आएका व्यवासयी जीवा लामिछाने लेखनमा पनि सक्रिय छन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष लामिछानेको नियात्रासम्बन्धी तीनवटा किताब प्रकाशित छन् । हालै सार्वजनिक भएको उनको कृति हो ‘अक्षत अन्टार्कटिका’ ।

उनी गृहजिल्ला चितवन आएका बखत सोमबार सोही पुस्तकका बारेमा चर्चा गर्न नारायणगढको पुस्तक पसल ‘सम्पूर्ण किताब’ले ‘अन्टार्कटिका संवाद’ राख्यो ।

सबैलाई थाहा छ, अन्टार्कटिका हिउँ नै हिउँले भरिएको महादेश हो । जहाँ मानव बस्ती त छैन नै जीवजनावर पनि साह्रै कम छन् । अन्टार्कटिका भन्दा धेरैले सम्झने भनेको हिउँपछि पेन्गुइन चरा, सिल र हृवेल हो । यस्तो ठाउँमा पर्यटक भनेर १३ दिन गरेको यात्रा विवरण लामिछानेको पुस्तकमा छ । उनले पुस्तकमा अन्टार्कटिकाको भूगोल, वातावरण र यात्रा इतिहासको कथा समेटेका छन् ।

‘अन्टार्कटिकाका बारेमा अंग्रेजी र हिन्दीमा धेरै नै लेखिएको पाएँ । नेपालीमा निकै कम रहेछ । एक त म डुलिरहने बानी भएको मान्छे एकपटक पुगौं भन्ने भयो । त्यहाँ पुगेपछि किताब लेख्ने सल्लाह नै भएको थियो । यसरी यो तेस्रो किताब जन्मिएको हो,’ लामिछानेले सुनाए ।

यसअघि उनका नियात्रा किताब ‘सर्सर्ती संसार’ र ‘देश देशावर’ प्रकाशित भएका छन् ।

अन्टार्कटिका पुग्ने यात्रा नै रोमाञ्चक रहने उनले बताए । ‘खतरनाक त नभनौं, पहिला आटार्कटिकाको खोजीका बेलामा समुद्रको पानीजहाज यात्रा खतरनाक नै रहेछ । अहिले त ती खतरा पार गर्ने जाहाज छन् । समुद्रमा पानीको छाल ५० मिटरसम्म उठ्दो रहेछ । पानीजहाज नै उचालिने, थेचारिने यात्रा फरक त हुने नै भयो,’ उनले भने ।

‘अघिल्ला दुई किताबभन्दा यो केही आख्यानिक रसको पनि छ,’ लामिछानेले भने, 'अन्टार्कटिका कुनै देशको प्रशासनिक नियन्त्रणमा पर्दैन । तर त्यहाँ लैजाने टुर अपरेटरहरुले नै अन्टार्कटिकामा बाहिरबाट जाने मान्छेका कारण कुनै हानिनोक्सानी नहोस् भनेर कस्तो राम्रो सावधानी अपनाएका छन् ।'

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully