मीन भामले भने - 'मलाई प्रदीपले फिल्म खेलाओस्'

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Meen Bham said - 'Let Pradeep play the film for me'

टीकापुर — 'प्रदीपले मलाई उसको फिल्ममा खेलाओस्,' निर्देशक मीन भामले प्रदीप भट्टराईतर्फ हेर्दै ठट्यौली सुनिए । प्रदीपले तक्कालै जवाफ फर्काइहाले, 'उहाँ आफैंमा हिरो हुनुहुन्छ । हामी दसैं तिहारमा फिल्म चलाउन कतिसँग लडिरहँदा उहाँ विश्व मार्केटमा एक्लै हिरोझैं उभिनुहुन्छ ।'

टीकापुरमा जारी टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणको सेसन थियो, 'स्वर्णिम समयमा नेपाली चलचित्र।' सेसनमा थिए अलग धारका फिल्म बनाइरहेका निर्देशक मीन भाम, कमर्सियल फिल्म बनाइरहेका निर्देशक प्रदीप भट्टराई तथा निर्माता रवीन्द्र सिंह बानियाँ र अभिनेत्री केकी अधिकारी । 

कार्यक्रममा केही विषयान्तर हुँदै यी तीन निर्देशक तथा निर्माता एक अर्कालाई व्यंग्य गरिरहेका थिए । त्यसको सुरुवात भने मीनले गरे, 'प्रदीपजीहरूले मलाई प्रिमियरमा बोलाउनुहुन्न ।' रवीन्द्रले व्यंग्यात्मक प्रतिवाद गरे, 'उहाँको लागि नेपाल ट्रान्जिट मात्र हो । स्क्रिप्ट नै फ्रान्समा बसेर लेख्नुहुन्छ । हाम्रो फिल्म लाग्दा उहाँ यता हुनुहुन्न ।'

मीनले आफूहरूलाई फिल्म बनाउन १० वर्ष लाग्दा नेपाली फिल्म उद्योगलाई जोगाउने श्रेय प्रदीप रवीन्द्रहरूलाई व्यंग्यात्मक रुपमा दिए । 'हात्ती जन्मिन पनि समय लाग्छ दाजु,' रवीन्द्रले  भने । 

त्यसपछि रवीन्द्रले मीन भामसँगको सम्बन्धबारे पनि वर्णन गरे । 'म उहाँलाई गुरुकुलको डाँडामा हुँदादेखि नै चिन्छु । हामी एकले अर्कालाई सहयोग गरिरहेका हुन्छौँ,' उनले भने । 

फिल्मको स्वर्णिम समय

'पूर्णबहादुरको सारंगी'सम्म आइपुग्दा नेपाली फिल्मले रोचक व्यापार गरिरहेको थियो । त्यसयता भने अपेक्षाकृत छैनन् । सहजकर्ता दीपज्योतिले अभिनेत्री केकीलाई सोधिन्, 'के अहिले फिल्मको स्वर्णिम समय हो ?'

केकीले सिनेमा साहित्य आफैंमा प्रोगेसिभ कुरा रहेको बताउँदै भनिन्, 'केही हदसम्म हामी स्वर्णिम समयमा छौँ ।  अहिले हामीले समावेशी चलचित्र देख्न पाइरहेका छौँ । पहिला एक किसिमको अनुहार मात्र देखिरहेका थियौं । अहिले फरक फरक अनुहार देख्न पाइरहेका छौं । भेनिस, टोरेन्टो गइरहेका छौं ।' उनले अहिले फिल्म बनाउन मेकरहरू उत्साहित भइरहेको पनि बताइन् । 

प्रदीपले समय जहिल्यै स्वर्णिम भएको बताए । 'तर स्वर्णिमकालको कसरी सदुपयोग गर्ने भन्ने हो । हामीले दर्शकहरूको चाहनालाई जानकारी राखेर गर्‍यो भने सदैव स्वर्णिम हुन्छ,' उनले भने । 

रवीन्द्र पूर्ण रुपमा स्वीकार भने गर्दैनन् । 'चलचित्रको गुणस्तरको हिसाबले भने स्वर्णिम छैन,' उनले भने‌, 'कतिपय फिल्म लोकरिझ्याइंमा बनाइरहेका छन् । '

मीनका फिल्मले अन्तर्राष्ट्रिय यात्रा गरे पनि नेपालमा रिलिज हुँदा जहिल्यै दर्शकको चुनौती हुन्छ । मीन आफूले बनाएको फिल्म दर्शकले बुझ्दैनन् भनुँ उनीहरूलाई नै अन्याय हुने बताए । 

कार्यक्रम २६ गतेसम्म जारी रहनेछ ।

कान्तिपुर

Link copied successfully