काठमाडौँ — कूटनीतिज्ञ एवं पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले नयाँ पुस्तक ‘नेपालको परराष्ट्र सम्बन्ध, संक्रमणकाल र प्रो नरेन्द्रमणि दीक्षित’ ल्याएका छन् ।
काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठ, प्राध्यापक एवं पूर्वराजदूत मोहनप्रसाद लोहनी, प्राध्यापक कुसुम शाक्य, पत्रकार एवं विश्लेषक कनकमणि दीक्षित र लेखक भट्टराईले पुस्तक लोकार्पण गरे ।
नेपालको कूटनीतिलाई केन्द्रमा राखी पहिलो परराष्ट्र सचिव नरेन्द्रमणि दीक्षितको समग्र पक्षबाट वस्तुगत विश्लेषण गरी सरल भाषामा पुस्तक लेखिएको पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जनाए ।
‘पुस्तकमा लेखकले मिहिन रूपमा सामग्री संकलन गरेर हामीलाई पाठ्यसामग्री दिनुभएको छ,’ उनले भने, ‘नेपालको कूटनीति र परराष्ट्र सम्बन्धमा पूर्वपरराष्ट्र सचिव नरेन्द्रमणि आचार्य दीक्षितबारे जानकारी राख्न यो पुस्तक उपयोगी छ ।’
सन् १९५० को नेपाल–भारत सन्धि कसरी सम्भव भयो, त्यसमा नेपालको भूमिका कस्तो थियो आदि विविध विषयमा पुस्तकले प्रकाश पार्ने पत्रकार कनकमणि दीक्षितले जनाए । परिपक्व कूटनीतिज्ञ एवम् प्रशासनमा समेत पोख्त नरेन्द्रमणि दीक्षितको बहुआयामिक व्यक्तित्व यसले झल्काउने उनको भनाइ छ ।
नेपालको बाह्य कूटनीतिका विषयमा विदेशीहरूले धारणा बनाइरहेको सन्दर्भमा नेपाली लेखकबाट यति उत्कृष्ट कृति आउनु स्वागतयोग्य विषय रहेको प्राध्यापक कुसुम शाक्यले बताइन् । राणाकाल, प्रजातन्त्र र पञ्चायती व्यवस्थामा पनि उत्तिकै पत्याइएको व्यक्तिका रूपमा नरेन्द्रमणिलाई चिन्न सकिने पूर्वराजदूत मोहनप्रसाद लोहनीले जनाए ।
आफूले छोटो समय भेटे पनि नरेन्द्रमणिका विषयमा अध्ययन गरेर पुस्तक प्रकाशनमा ल्याएको लेखक मदन भट्टराईले बताए ।
