नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन स्वास्थ्य, शिक्षा, द्वन्द्व साहित्य, विकास, साहसिक पर्यटन, प्रविधि, भाषामाथि बहस
पोखरा — विमानस्थलमा विदेशिनेको लस्कर, सडकमा अराजकता, के नेपाल चरम निराशाबाट गुज्रिरहेको हो ? पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा शुक्रबार ‘निराशा : व्याख्या र वास्तविकता’ सत्रमा बोल्ने वक्ताले भने, ‘नेपालमा निराशा मात्रै छैन, निराशाभित्र आशा पनि छ ।’
कांग्रेस महामन्त्री गगन थापा, टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठ र राजनीतिशास्त्री जीवन बानियाँसँग कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान गफिएका थिए ।
अहिले देखिरहेको निराशा चिर्न सरकारले प्रयत्न नगरिरहेकोतर्फ चौहानको चासोमा महामन्त्री थापाले सहमति जनाए । सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको थापाले स्वीकारे । सरकारको कमिकमजोरीबाट आफू पनि भाग्न नमिल्ने उनले बताए ।
‘त्यो नदेख्दै गर्दा मेरो पनि प्रश्न नै प्रश्न छ तर यसको अर्थ मैले यहाँ प्रश्न गरे, यो गरे भन्ने होइन म सरकार सञ्चालन गर्ने जिम्मेवार ठाउँमा भएकाले मेरो संलग्नता भए पनि नभए पनि यसभित्र भएका कमि कमजोरीबाट म भाग्न हुँदैन, भाग्दिनँ, यसको सबै दोष पनि मैले यहाँबाट भोगेर जानुपर्छ,’ उनले भने ।
निराशाकै बीचमा आशा रहेको श्रेष्ठले बताइन् । ‘चूनौती छैन भन्न खोजेको पनि होइन । फेरि आशा भनेको एकदमै अन्धो आशा भन्न खोजेको पनि होइन । समूदायमा आशा पनि छ, निराशा पनि छ । आशालाग्दा कुरा पनि छन् । अप्ठेरो पनि छन् । तर हाम्रो प्राथमिकता के हुन्छ भने यो कसको जिम्मेवारी हो,’ उनले भनिन् ।
राजनीतिशास्त्री बानियाँले नेपालमा मात्र निराशा रहेको देश नभएको सुनाए । तर, निराशाको विन्दु र तत्त्वहरु मुख्य रहेको उनको भनाइ थियो । ‘नेपालमात्र त्यस्तो देश होइन जहाँ निराशा छ । त्यही कुरा हो कि अलिकति निराशाको रेट कति छ ? कारक तत्त्वहरु के हो ? भन्ने कुरामा चाहिँ फरक हुनसक्छ । नेपालको सन्दर्भमा प्रमुख कारणहरु देखिन्छ । पहिलो कुरा भनेको रोजगारी, दोस्रो हाम्रो राजनीति, यीनलाई विभिन्न अध्ययनले पनि त्यही नै देखाइरहेको छ,’ उनले भने।
नेपालले कुनै पनि क्षेत्रमा राम्रो काम गर्न नसकिरहेको विचार गलत रहेको उनले सुनाए । विभिन्न क्षेत्रमा गरिरहेका काम आशा लाग्दो रहेको उनको भनाइ थियो । ‘केही नभएको भने होइन । अहिले स्वास्थ्य सेवामा, धेरै राम्रो गरेको छ । आईटी, हाइड्रोमा राम्रो काम गरिरहेका छौं,’ उनले भने ।
फेस्टिभलको दोस्रो दिन स्वास्थ्य, शिक्षा, द्वन्द्व साहित्य, विकास, साहसिक पर्यटन, प्रविधि, भाषामाथि बहस भए । फेस्टिभलमा पत्रकार योगेश ढकालले ‘स्वास्थ्य सेवामा जनताको पहूँच’ सत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला र मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.सन्तोष शाक्यसँग अन्तरसंवाद गरे ।
स्वास्थ्य मन्त्री पौडेललाई ढकालले प्रश्न गरे, ‘२ सय २५ दिनमा स्वास्थ्य मन्त्रालयको प्रयोगशालाबाट के–के डायग्नोस्टिक गर्नुभयो ? पेन किलर नै खाएरै ठीक हुनुपर्ने रहेछ कि सर्जरी नै गर्नुपर्छ भन्ने देख्नुभयो ?’
स्वास्थ्यमन्त्री पौडेलको जवाफ थियो, ‘सर्जरी नै गर्नुपर्छ ।’ सेवा विस्तार गर्ने सन्दर्भमा केही न केही सुधार भएको उनको दाबी छ । ‘अनुभूति दिलाउन केही समय लाग्छ । सिटामोल दिएर हुन्छ या सर्जरी गर्नुपर्छ भन्ने सन्दर्भमा धेरै ठाउँमा सर्जरी गर्नुपर्छ । नीतिगत, व्यवस्थापकीय, लगानीको पक्षमा हामीले सर्जरी नै गर्नुपर्ने स्थिति देखिन्छ ।’
‘यस्तो होस् नेपाल–भारत सम्बन्ध’ सत्रमा अभिनेत्री मनीषा कोइराला र महेन्द्र पी लामासँग पत्रकार योगेश ढकालले संवाद गरे । उक्त संवादमा कोइरालाले संवैधानिक राजतन्त्र बीपी कोइरालाकै अवधारण भएको बताइन् । ‘नेपालमा स्थिरता हुन संवैधानिक राजतन्त्र चाहिँदो रहेछ भनेर उहाँले राष्ट्रिय मेलमिलापको नीति ल्याउनु भएको हो,’ उनले भनिन्, ‘यदी कांग्रेसले उहाँको भिजन नछोडेको भए हाम्रो स्थिति अहिले यस्तो हुने थिएन ।’
‘के नेपाली भाषा मर्दै छ ?’ सत्रमा राम लोहनीले बसन्त थापालाई सोधे, ‘भाषा मर्ने भनेको के हो ?’ जवाफमा थापाले भने, ‘यदी लेख्य भाषा जीवित रहेन भने त्यो मरेतूल्य नै हो ।’ ‘अमेरिकी छोरी, नेपाली आमा’ सत्रमा म्यागी डोयनसँग लेखक डा.नवराज केसीले छलफल चलाए । डोयनले भनिन्, ‘नेपाल धेरै हिसाबले सफलताको विशाल कथा हो र त्यो शिक्षाको कारणले हो । सफलताको हरेक सुत्र शिक्षाबाट आउँछ ।’
‘नमस्कार डाक्साब !’ सत्रमा डा. जगदीशलाल वैद्य र डा. बुद्धिबहादुर थापासँग पत्रकार दीपेन्द्र श्रेष्ठले भराकुसारी गरे । ‘अब साहसिक पर्यटन’ सत्रमा प्यारा पाइलट सानुबाबु सुनुवार, गो बन्जीकी सञ्चालक मीना बराल र पर्वतारोही जगन तिमिल्सिनासँग सुमन घिमिरेले संवाद गरे ।
‘लेख्न बाँकी द्वन्द्व साहित्य’ सत्रमा युद्ध पत्रकार संगीता खड्का, नवीन विभास र गोविन्दराज भट्टराईसँग गणेश खनियाँले बहस गरे । भट्टराईले भने, ‘मानव समाज रहिञ्जेलसम्म द्वन्द्व चलिरहन्छन् र साना–ठूला द्वन्द्वले समाज परिष्कार हुँदै जान्छ ।’ पत्रकार दीपक परियारले ‘कस्तो विकास ? कसको विकास ?’ सत्रमा गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे, पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ र यूएन ह्याबिट्याटकी नेपालस्थित कार्यक्रम निर्देशक प्रज्ञा प्रधानसँग छलफल चलाए । उनीहरुले समावेशी विकास अवधारणालाई अपनाउन बजेट नै समावेशी बनाउनुपर्ने विचार राखे ।
‘लिच एन्ड द आर्ट अफ अदर स्टोरिज’ सत्रमा भूषिता वशिष्ठले रञ्जन अडिगासँगको संवादमा समाजले कल्पना नै नगरेको आयाम देखाउन लेखक अराजक हुनुपर्ने तर्क गरिन् । ‘प्रविधिको युगमा वैकल्पिक स्वर’ सत्रमा कन्टेन्ट क्रियटर दिपेश त्रिपाठी, सरोज कार्की र अमृत थापासँग योजना थापा मगरले संवाद गरिन् ।
‘घरः पहिलो विश्वविद्यालय’ सत्रमा दिवाकर जैसी, हसिना बस्नेतसँग रेशम गिरीले संवाद चलाए । ‘किन अहिलेका आमा–बुवाहरू आफ्नै छोराछोरीका लागि आइडल मान्छे बन्न सकेनन् ?,’ यही विषयमा गहन छलफल भयो । ‘विद्यालयमा पठन संस्कृति’ सत्रमा मा सुरज उपाध्यायले सुरेन्द्रमानसिंह भण्डारी, टेकनारायण पौडेल र कौशल्या गुरुङसँग संवाद गरे । उक्त सत्रमा वक्ताले भने, ‘ठूल्ठूला भ्यू टावरमा लगानी गर्ने राज्यले पुस्तकालयमा किन लगानी गर्दैन ?’
