'अहिले म अर्धभूमिगत अवस्थामा छु । अर्धभूमिगत यस मानेमा कि मलाई अहिले सरकारबाट कुनै वारेन्ट छैन । हाम्रो पार्टी नेकपा मसाललाई हामीले भूमिगत नै राखेका छौं । त्यसको महामन्त्रीको हैसियतले म अर्धभूमिगत छु । पूरै भूमिगत पनि छैन, पूरै खुला पनि छैन । '
पोखरा — सार्वजनिक कार्यक्रममा बिरलै देखिने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह शनिबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा देखिए । फेस्टिभलको तेस्रो दिन ‘राजनीति र साहित्यको आयाम’ सत्रमा उनीसँग विजयकुमारले संवाद गरे । संवादको सुरुमै उनले आफू अझै पनि अर्धभूमिगत रहेको बताए । सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरेपनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत रहेको उनको भनाइ थियो ।
हालै मात्र २३ वर्ष लगाएर लेखेको उपन्यास ‘कमरेड जलजला’ सार्वजनिक गरेका मोहनविक्रम सिंहसँग विजयकुमारले गरेको संवादको सम्पादित अंश :
तपाईं हिजोआज अर्धभूमिगत हुनुहुन्छ कि भूमिगत ?
अर्धभूमिगत छु । मेरो ९० वर्षको जीवनमध्ये लामो समय नेपालको प्रजातान्त्रिक आन्दोलन र वामपन्थी अन्दोलनमा बितेको छ । जीवनको लामो सयम म जेलमा बसें । भूमिगत भएँ । अहिले म अर्धभूमिगत अवस्थामा छु । अर्धभूमिगत यस मानेमा कि मलाई अहिले सरकारबाट कुनै वारेन्ट छैन । हाम्रो पार्टी नेकपा मसाललाई हामीले भूमिगत नै राखेका छौं । त्यसको महामन्त्रीको हैसियतले म अर्धभूमिगत छु । पूरै भूमिगत पनि छैन, पूरै खुला पनि छैन ।
तपाईं भीष्मपितामह हुनुहुन्छ नेपाली कम्युनिष्ट आन्दोलनको ? तपाईंका शिष्यहरुका ठूला–ठूला नामहरु छन् प्रचण्डजी, बाबुरामजी, महराजी । यो लिस्ट लामो बन्दै जान्छ । आज तपाईंका शिष्यलाई देखेर गर्व महसुस हुन्छ कि ग्लानि लाग्छ ? कि होइन जीवन यस्तै हो जस्तो लाग्छ ?
पहिला त हामीले गुरु र शिष्यको सम्बन्धको उल्लेख गरौं । यो सम्बन्धलाई हामीले गुरु र शिष्यको सम्बन्ध मान्दैनौं । पार्टीमा कोही केही दिन पहिला आयो कोही केही पछि आयो । गुरु र शिष्यको सम्बन्ध होइन, हाम्रो साथीको सम्बन्ध हो । यसरी देशका हजारौं साथीहरुसँग मैले पार्टीमा काम गरें । कतिपय साथीहरु हामीबाट अलग भएर जानुभो । त्यसलाई मैले शिष्य पनि ठान्दिनँ । मैले आफूलाई गुरु पनि मान्दिनँ । हामी नेपालको प्रजातान्त्रिक र वामपन्थी आन्दोलनमा सहयोद्धा हौं । र हाम्रा दृष्टिकोणहरु बेग्लै छन् । त्यैपनि जसले जहाँ जुन रुपमा देशको प्रजातान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलनका लागि जति सहयोग गरिराख्नुभाछ त्यसको लागि सबैलाई धन्यवाद दिन्छु ।
तपाईंलाई उनीहरुप्रति कुनै गुनासो छ ?
नाइँ, धेरै मतभेद छ । त्यो मतभेद र मतभेद भन्नुको अर्थ हो हामीले अरु साथीहरुले अपनाएको कतिपय नीति, कार्यक्रमहरुलाई गलत मानेका छौं । हामीले उनीहरुलाई गलत मानेका छौं, उनीहरुले हामीलाई गलत मानेका छन् । त्यसकारण को असल छ को गलत छ ? इतिहासको लामो धारामा दर्ज हुँदै जाने कुरा हो । तपाईंले आज फेरि शिक्षा दिनुभो भने पुरानै शिक्षा दिनुहुन्छ कि नयाँ शिक्षा दिनुहुन्छ ? अथवा त्यो बखतको लागि त्यै शिक्षा ठीक थियो, आजको युगका लागि बेग्लै शिक्षा चाहिन्छ ।
के सही थियो के गलत थियो ? जति पुराना कुराहरु थिए । मूलभूत सिद्धान्तहरु अहिले पनि सही छन् । तर, व्यवहार इतिहासका विभिन्न कालखण्डमा हामीले नीतिहरु अपनायौं । कैयौं पुराना भए । कैयौं गलत भए । नयाँ परिस्थितिमा नयाँ विचारहरु हामीले अपनाउँदै आएका छौं । त्यो इतिहासमा परिवर्तन हुँदै जानेछ । र पुराना सबै विचारहरु हामीले गलत पनि भन्दैनौं । आफ्नो समयमा ती सही थिए, त्यसै गरे । त्योमध्ये कैयौं गलत पनि भएका छन् । हामीले अपनाएका विचारहरु कति गलत छन् । अरु साथीहरुले अपनाएका विचार कति गलत छन् । त्यो इतिहासले र व्यवहारले पहिचान गर्दै जानेछ ।
तपाईंले हमेसा लामो समयसम्म सशस्त्र संघर्षको वकालत गर्नुभयो मुलुकमा । तपाईंका शिष्यहरुले कार्यान्वयनमा ल्याए । आजको दिनमा तपाईंले शिक्षा दिनुपर्यो भने नयाँ अध्याय जोड्नुहुन्छ कि पुरानोले पुग्छ ?
सशस्त्र संघर्षको जुन सिद्धान्त हो, मार्क्सवाद लेनिनवादले के भन्छ भने अहिलेको व्यवस्थामा परिवर्तनका लागि र मुलुक परिवर्तनका लागि सशस्त्र संघर्ष अनिवार्य छ । त्यसका विधिहरु छन् । दूध खानुस्, घ्यु खानुस् अझ औषधिको प्रयोग गर्नुस् । समय परिस्थितिको ख्याल गर्नुपर्छ । तसर्थ सशस्त्र संघर्षको सिद्धान्त नै गलत भो भनेर हामीले भन्दैनौं । त्यो गल्ती कहाँ भयो भने मार्क्सवादी लेनिनवादी सिद्धान्तले संघर्षको प्रक्रिया, परिस्थिति निर्माण गरेको छ । त्यसलाई उहाँहरुले सही किसिमले प्रयोग गर्नुभएन । त्यसकारण त्यो संघर्ष गलत भो । त्यसैले हामीले उग्रवामपन्थी भन्यौं । कतिपय अवस्थामा आतंकवाद पनि ग्रहण गर्यौं । त्यो गलत हो । सशस्त्र संघर्षको सिद्धान्त नै गलत भएको छैन । उहाँले जुन प्रयोग गर्नुभो त्यो मार्क्सवादी सिद्धान्त अनुरुप थिएन त्यसकारण त्यो गलत थियो ।
तपाईंका शिष्यहरु उनीहरुले जीवनमा जे–जस्तो तरिकाले गतिविधिहरु गरे, जसरी उनीहरुको जीवनशैली कायकल्प भयो । जसरी जायज, नाजायज तरिकाले उनीहरुले आर्जन गरे । कि कैयौं कम्युनिस्टहरु कुनै दिन ठगौंला भनेर निस्किएका थिए यात्रामा या बाटोमा हिँड्दा हिँड्दै मान्छे त्यस्तो भएको हो ?
यो नेपालमा मात्रै होइन संसारमा पनि कैयौं संख्याहरुमा कम्युनिस्टहरुको पतन भएको छ । विचलन भएका छन् । भ्रष्ट भएका छन् । यो संसार विश्वव्यापी रुपमा हो । त्यसको असर नेपालमा पनि पर्दछ । जस्तो कि भनौं एउटा मुसलमान हुन्छ । एउटा बुद्धिस्ट हुन्छ, हिन्दु हुन्छ । कर्मचारी हुन्छ, शिक्षक हुन्छ । यो सबैले के गर्नुपर्छ भन्ने नियम छन् । मान्छेहरु नियमबाट विचलन हुन्छ । कम्युनिस्टहरु पनि ठीक त्यसै गरे । के गर्नुपर्छ ? के–का लागि कम्युनिस्ट भाएका हौं यो भन्नका लागि सिद्धान्त छन् । नियम छन् । तर, ठूलो संख्यामा कम्युनिस्टहरु त्यो सिद्धान्त, आचरण, नियमबाट विचलन भएको छ । संसारभरमा त्यस्ता प्रकारका विचलनहरु देखापरेका छन् । नेपालमा पनि त्यसको असर कम्युनिस्टहरुमा देखिएको छ । ठूलो संख्यामा कम्युनिस्ट जस्तो हुनुपर्छ त्यस्तो भएका छैनन् । जस्तो बुद्धिस्ट हुनेहरु बुद्धिस्ट नभएर त्यसबाट विचलन भएको छ । मुसलमानहरु, बौद्धहरु, सबैहरु त्यही प्रकारले कम्युनिस्टहरु ठूलो संख्यामा पतन भएका छन् । भ्रष्ट भएका छन् । त्यो कुरा नेपालमा पनि भएको छ । जो कम्युनिस्टको सिद्धान्तबाट विचलन भएका छन् तिनीहरु कम्युनिस्ट होइनन् । तिनीहरुलाई हामीले कम्युनिस्ट भन्न सक्दैनौं । त्यो कम्युनिस्टका नाममा उनीहरुले भ्रम दिएका छन् ।
तपाईं दार्शनिक पनि हुनुहुन्छ । आजको दिन कम्युनिष्ट कम्युनिष्ट जस्तो पनि छैन । डेमोक्रेट डेमोक्रेट जस्तो छैन । राजावादी राजावादी जस्तो छैन । सबै नक्कली जस्तो छ । नक्कली राजावादी, नक्कली कम्युनिस्ट, नक्कली कांग्रेस भएको हो कि ? अहिलेको समाज नै अन्तरघुलनको, मिसमासको सप्तरंगी भएको हुनाले कम्युनिस्टमा लाग्नु स्वाभाविक हो । कि कम्युनिस्टहरुले आफ्नो एउटा विशिष्टकृत किसिमको चरित्र निर्माण गर्नुपर्छ ? एउटा कम्युनिष्ट बेग्लै हुन सक्छ कि सक्दैन भन्ने कुरा हो ?
यो संसारमा लाखौं कम्युनिस्टहरु छन् । जो कम्युनिस्ट जस्ता छन्, उनीहरुले त्याग गरेका छन् । बलिदान गरेका छन् । देश, जनताको हितका लागि काम गरेका छन् । बुर्जुवा नै भन्नुस्, नेपाली कांग्रेस नै भन्नुस्, अरु कुनै पार्टी भन्नुस्, संसार र नेपालमा पनि धेरै बुर्जुवा नेताहरु छन्, कलाकार, साहित्यकारहरु छन् । जसले सिद्धान्तमा लेखिए अनुसार आफ्नो जिम्मेवारी पूरा गरेका छन् । राजाको कुरा भन्नुहोस्, हामीसँग पृथ्वीनारायण जस्ता राजा पनि इतिहासमा पाइन्छ । जसले नेपालमा छरिएको राज्यहरुलाई मिलाएर एकीकृत गरे । त्यस्ता राजा विश्वभर पाइन्छन् । जो देशभक्त छन् । नेपालका राजाहरुलाई हेर्नुभयो भने धेरै भ्रष्ट भएका, व्यक्तिगत स्वार्थमा लाग्ने, तस्करी गर्ने, गलत प्रकृतिका नीतिहरु अपनाउने, स्वार्थका लागि गलत नीतिहरु अपनाउने राजाहरु पनि नेपालमा देखापरेका छन् । संसारभर देखापरेका छन् । त्यसकारण कम्युनिस्टको कुरा गर्दाखेरि संसारमा ठूलो संख्या कम्युनिस्टहरु छन् र आफ्ना सिद्धान्त र नीति अनुसार आफ्ना क्रान्तिका लागि त्याग, बलिदान गरेका छन् । र त्यसका लागि जीवन सर्मपण गरेका छन् । यो दुवै प्रवृत्तिहरु सबै क्षेत्रमा देख्न पाइन्छ । कर्मचारीहरुमा पाउनुहुन्छ ।
भगवान् त तपाईं सायद मान्नुहुन्न क्यारे ! तर, प्रकृति त मान्नुहुन्छ । तपाईंले आफ्नो जीवनलाई पछाडि फर्केर हेर्दाखेरि कुनै पछुतो महसुस हुन्छ ? कि तपाईंका चेलाहरु कहाँ पुगिसके । संसारिक भाषामा उनीहरु कत्रो कत्रो प्रगति गरिसके । तपाईंलाई पछुतो छ आफ्नो जीवनमा ?
जीवनमा कैयौं गल्तीहरु मैले पनि गरेको छु । त्यसको मूल्यांकन गर्नुपर्यो भने बेग्लै पाटो छ । र मुख्य जुन कुरा मलाई अवसर छ, प्रसंग छ, गौरव छ । त्यो कि आफ्नो सिद्धान्तहरु र त्यसका लागि मैले लगातार अघि बढिरहेको छु । त्यसैले मलाई पश्चाताप छैन । अहिले पनि म आफ्नो सिद्धान्त, उद्देश्यका लागि लगातार अगाडि बढिरहेको छु । तर, मैले बारम्बार भनिरहें मैले धेरै साथीहरु हुनुहुन्छ जो पार्टीको सिद्धान्त अपनाएर विचलित हुनुभएको छ । त्यसै गरेर बुर्जुवा पार्टीहरु, प्रजातान्त्रिक पार्टीहरु लगायत नेपालका पार्टीहरुले जुन सिद्धान्त अपनाए त्यसबाट विचलित, भ्रष्ट भएका थुप्रै छन् । एउटा इमानदार कम्युनिस्ट कर्मचारी कस्तो हुनुपर्छ हामीले देखेका छौं । तर, भ्रष्टाचार गरेका कम्युनिस्ट कर्मचारीहरु धेरै छन् । यस्तै, हामीले प्रहरी, सेना, साहित्यकार, कलाकारमा देख्छौं । जसले आफ्नो जुन सिद्धान्त, आस्था हो त्यसबाट विचलित भएका थुप्रै उदाहरण छन् । त्यसकारण त्यो चीज गलत हो । मैले आफ्नो जलजला उपन्यासमा पनि त्यही प्रकारको दृष्टिकोण, दर्शन दिने प्रयत्न गरेको छु । विश्वका लागि र स्वयं हाम्रो नेपालका लागि र कम्युनिस्टका लागि केही आदर्श मैले पेस गर्ने प्रयत्न गरेको छु ।
लेखकको रुपमा तपाईंले जीवन, जगत् र राजनीतिलाई हेर्नुभो । कृतिको नाम छ ‘कमरेड जलजला’, मान्छेहरुले भन्छन् कि त्यो तपाईंले आफ्नो प्रेमिकाको नाममा लेख्नुभएको हो । त्यो साँचो कुरा हो ?
यो प्रयास हो । मूल उपाय त्यसको पक्ष हो । जीवनप्रतिको दृष्टिकोण, दर्शन, पूरा समाजको विषयमा त्यसलाई प्रस्तुत गर्न मेरो प्रयत्न हो । त्यसमा त्यो जीवन पूरै काल्पनिक छैन । यद्यपि, कल्पनाको पनि त्यसमा मद्दत लिएको छु । जीवनका कैयौं वास्तविक घटनाहरु पनि छन् मेरा । समाजका, हाम्रा साथीहरुका कैयौं वास्तविक घटनाहरुलाई पनि मैले दिने प्रयत्न गरेको छु । त्यसैले वास्तविकता, सत्य र कल्पनाको एउटा मिश्रण हो । त्यो सबैको निष्कर्ष हो ।
तपाईंले लेखकको रुपमा जीवन, जगत्लाई राजनीतिज्ञको रुपमा जसरी हेर्नुहुन्छ केही सपाट छ कि भिन्नता छ ? तपाईंका लागि लेखन राजनीतिको विस्तार हो कि होइन ?
जलजला उपन्यासको पहिलो प्राक्थनमै एउटा वाक्य छ, ‘यो विश्व र व्यक्तिबीचको जुन सम्बन्ध हो त्यो अन्तरसम्बन्ध हुन्छ । घनिष्ठ हुन्छ ।’ मेरो जीवनबारे पनि सत्य हो । साहित्य र राजनीतिको बारेमा सम्बन्ध दुवै जीवनका अंग हुन् । त्यसकारण ती सबै एक अर्काबाट अलग हुँदैन । जो मेरो राजनीतिक जीवन रहेको छ करिब ७० वर्षको राजनीतिक जीवन त्योसँग साहित्य पनि जोडिएको छ । राजनीति पनि जोडिएको छ । यी दुवै एउटै कुराको बेग्लाबेग्लै पक्ष हुन् । तर, उनीहरुको आपसमा अन्तरघुलन छ । आपसमा घनिष्ठ सम्बन्ध छ ।
जुन उद्देश्यले मैले आफ्नो राजनीतिक जीवनमा प्रयत्न गरेको छु, ठीक त्यै साहित्यद्वारा पनि गरेको छु । अहिले मेरो उपन्यास ‘कमरेड जलजला’ योभन्दा पहिले पाँच वटा उपन्यास लेखेको थिएँ । ती सबै हराए । प्रकाशित हुन सकेनन् । राजनीतिक क्षेत्रमा थुप्रै किताब, लेखहरु लेखेको छु । त्यसका रुपहरु बेग्लै ठाउँमा बेग्लै होलान् । तर, मूलरुपमा हेर्ने हो भने साहित्य र राजनीति जीवनका, समाजका, विश्वका आपसमा सम्बन्धित अंगहरु हुन् । एकअर्कासँग जोडिएका छन् । बेग्लै गराएर हेर्न मिल्दैन । बेग्लै पनि छन्, एउटै पनि हुन् । हामी प्रत्येक व्यक्ति अलग्गै छौं ।
