पोखरा — नेपाली समाजमा एउटा सर्वमान्य मानक बनेको छ, ‘नेताले पढ्दै पढ्दैनन् ।’
के साँच्चै नेताले नपढ्ने हुन् त ? पढ्दा कस्ता पुस्तक पढ्छन् ? यिनै प्रश्नको सेरोफेरोमा पोखरामा शनिबार बहस चल्यो ।
१२ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘नेताले किन पढ्नुपर्छ ?’ अन्तरक्रियामा जनता समाजवादी पार्टी (नयाँ शक्ति) का नेता हिसिला यमी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, राजनीतिशास्त्री हरि शर्मासँग राजनीतिक अध्येयता शंकर तिवारीले सवाल तेर्स्याए । बहसमा सहभागी तीनै नेता पढ्नुपर्नेमा एकमत भए ।
राजनीतिशास्त्री शर्माले नेपाली राजनीतिज्ञहरुले कम पढ्ने तर्क प्रस्तुत गरे । ‘राजनीतिज्ञहरुले कम पढ्छन् भन्नलाई मलाई कुनै संकुचन छैन । किनभने जनताको आकांक्षा, उर्लंदो इच्छालाई पढ्न सकिरहेका छैनन्’, उनले भने, ‘यो कुनै किताबसँग सम्बन्धित छैन । तर, किताबलाई पढ्ने कुरा महत्वपूर्ण छ ।’
उनले किताब मात्रै नभएर नेताले मान्छेको भावना बुझ्नुपर्ने बताए । ‘पढ्ने विषय पुस्तक मात्रै पढ्ने होइन । मान्छेको भावना बुझ्न सक्ने नेताले पढे कि पढेनन् भन्ने कुरातिर जान्छ,’उनी थप्छन्, ‘ज्ञानको माध्यम पहिला किताब थियो । अहिलेको जेन–जी ट्याब्लेट भएर आएको छ । आइफोन भएर आएको छ । पुस्तक एउटा माध्यम हो । अक्षरहरु आफैं बोल्दैनन्, अक्षरलाई बोलाइनुपर्छ । लेखकले बोलाउनुपर्छ । पाठक त्यसमा आबद्ध हुन्छन् ।’
यमी पनि नेताले पढ्नुपर्नेमा सहमत छिन् । रुपान्तरणको राजनीति गर्न पढ्नुको विकल्प नभएको उनको भनाइ थियो । ‘राजनीतिज्ञले सबै पढ्नुपर्छ । रुपान्तरणको राजनीति गर्ने हो भने पढ्नुपर्छ, पढ्नुपर्छ, पढ्नुपर्छ । संसारका चर्चित नेताहरुले असाध्यै पढेको देखिन्छ,’ उनले भनिन् ।
पपुलिज्म खोज्ने नेताहरुले भने कम पढेको उनको टिप्पणी छ । 'जनयुद्ध'का क्रममा रोल्पमा ६ महिने कारबाहीमा पर्दा बाबुराम भट्टराईसँगको संगतले धरै किताब पढ्ने भएको उनले सुनाइन् । ‘माओ र लेनिनवाद’ का किताब रटेको उनको स्मरणमा ताजै छ ।
भट्टराई प्रधानमन्त्री भएको बखत ‘प्रथम महिला’ को कामबारे हिलारी क्लिन्टनको पुस्तक पढेको उनले सुनाइन् ।
सांसद खनालले अहिले उड्डयनसँगै परराष्ट्र नीति र कूटनीतिक विषयका पुस्तक पढिरहेको सुनाए । चेतना र चिन्तन निर्माणमा पुस्तकको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको उनले बताए । ‘चेतना वृद्धिको लागि पढ्नुको अत्यन्तै ठूलो महत्व हुन्छ । त्यो म पटक पटक अनुभव गर्छु,’ उनी भन्छन् ।
