पोखरा — पोखरामा जारी १२औं नेपाल लिटरेचर फेस्टिभलको ‘आख्यानको स्रोत’ सेसनमा आख्यानकारबीच विमर्श भएको छ ।
‘आख्यान लेख्नेहरुले सबैभन्दा बढी गैरआख्यान पढ्नुपर्छ,’ आख्यानकार छुदेन काविमोले भने, 'धरातल र इतिहास थाहा नभई त्यसमा कल्पना गर्न सकिन्न । पहिला रिसर्च गर्ने हो, त्यसपछि कल्पना हाल्ने हो । त्यसरी पो उपन्यास बन्ने हो कि ।’
छुदेनसहित लेखकद्वय विवेक ओझा र प्रगति राईले आख्यान कसरी लेख्ने, आख्यानको स्रोत केके हुन् भन्ने विषयमा चर्चा गरे । सेसनको सहजीकरण दीपक पराजुलीले गरेका थिए ।
लेखक ओझाले लेख्ने विषय आफ्नो फिलिङ्समा निर्भर हुने उल्लेख गरे ।‘कुनै पनि पात्र होस्, कुनै पनि मोमेन्ट होस्, अथवा कुनै पनि परिस्थिति होस् । त्यसले सुरुमा दिमागमा क्लिक गर्छ,’ उनले भने ।
लेखक राईले आफूले आख्यान लेख्दा विषयअनुसार पात्र चयन गर्ने बताइन् । काल्पनिक भएर पनि यथार्थ जनाउन सक्ने खालको पात्र चयन गर्नेमा उनले जोड दिइन् । ‘मैले एउटा विषय लिएको हुनाले त्यो विषयअनुसारको पात्र चयन गर्छु । मैले छोरीलाई भविष्यको अधिकारबा विषयमा लेख्दै आएको छु । त्यसका लागि आफ्नो कथा लगाउनै पाइँदैन । किनभने मेरो छोरीहरु नै छैनन्,’ उनले भनिन् ।
छुदेनले कुनै विषयमा लेख्दा पहिला अनुसन्धानमा फोकस हुने बताए । ‘यो विषयमा लेख्छु भनिसकेपछि मैले के गर्छु भनेर अनुसन्धानमा फोकस हुन्छु,' उनले भने ।
