विश्वविद्यालयमा जिउँदो मान्छे छैनन् : विद्यानाथ कोइराला

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

There are no living people in the university: Vidyanath Koirala

काठमाडौँ — शिक्षाविद् विद्यानाथ कोइरालाले विश्वविद्यालयहरूमा जिउँदो मानिस नभएको बताएका छन् । नेपाल पर्यटन बोर्डमा जारी काठमाडौं उत्सवको पहिलो दिन 'ज्ञान, विवेक र विज्ञान' सत्रमा सहजकर्ता विमल आचार्यले शिक्षा क्षेत्रमा देखिएको विकृतिबारे सोधेको प्रश्नको उत्तरमा उनले यस्तो बताएका हुन् ।

सहजकर्ता विमलले उनलाई खासमा यस्तो विकृति हुँदा पनि कोही नबोल्ने भनेपछि जिउँदो कसरी भयौं त भनेर सोधेका थिए । जवाफमा उनले भने, ‘हामी बुद्धिजीवी हुनुपर्ने, बुद्धुजीवी भयौं । शिक्षक प्राध्यापकहरुमा सिर्जनशीलको चरम अभाव छ । सामान्य सुधार पनि गर्न नचाहने खाली निहुँ खोजिरहने प्रवृत्ति छ।’

शिक्षाविद् कोइरालासहितको सत्रमा उप-प्राध्यापक रजनी ढकाल पनि थिइन् । शिक्षाविद् कोइरालाले शिक्षा आयोगको प्रतिवेदन अहिलेका प्रधानमन्त्रीले थन्क्याइदिएको बताउँदै निजी शिक्षामा उनीहरुकै लगानी भएको बताए । विश्वविद्यालयको काम कोर्स होइन डिस्कोर्स हो भन्दै शिक्षाविद् कोइरालाले भने, 'तर हाम्रो विश्वविद्यालयले परीक्षामा पास हुन मात्र सिकाउँछ, ज्ञान विज्ञान र चेतना के हो भन्ने कुरा गहिराइमा बुझ्ने हिसाबले सिकाउँदैन ।'

रजनी ढकालले भने त्रिभुवन विश्वविद्यालयमा पाठ्यक्रममा व्यापक कमजोरी भएपनि आफूहरु सुधार गर्न सक्नेगरी पदमा नभएको स्वीकार गरिन् । उनले भनिन्, ‘एकै शिक्षकको ५६ वटा सन्दर्भ सामग्री राख्ने गरी पाठ्यक्रम बनाइएको छ।’

कार्यक्रमको सुरुवातमै सहजकर्ता आचार्यले 'तपाईंहरुको विश्वविद्यालयको खबर के छ ?' भनेर सोधेका थिए । विद्यानाथले काठमाडौं विश्वविद्यालयमा अलमल भएको बताए भने रजनीले त्रिविमा विद्यार्थी अभाव रहेको बताइन् । उनले भनिन्, ‘हामी १५, २० जनालाई पढाउन बाध्य छौं ।’

कान्तिपुर

Link copied successfully