काठमाडौँ — टीकापुर साहित्य समाजको आयोजनामा फागुन २५–२७ मा ‘टीकापुर साहित्य महोत्सव– २०८१ हुने भएको छ । टीकापुर साहित्य महोत्सवको यो दोस्रो संस्करणलाई ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको आयोजकले जनाएको छ ।
यस संस्करणमा नेपालका प्रथम नाटककार पहलमानसिंह स्वाँरको समग्र व्यक्तित्व र कृतित्वबारे चर्चा र विचारविमर्श हुने समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवमा २१ बहस सत्र रहनेछन् । लेखक तथा अध्येता हरि शर्माको विद्वत् प्रवचन रहने महोत्सवमा एक लाख राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार पनि प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । ‘उक्त पुरस्कार धनञ्जय तिमिल्सिना तथा बलबहादुर रावललाई प्रदान गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार साहित्यकार विवेक ओझालाई प्रदान गरिनेछ ।’
महोत्सवमा साहित्यका साथै वैकल्पिक राजनीति, स्थानीय तहमा महिलाको नेतृत्व, समाज, थारू संस्कृति, विकास, पर्यटन, दलितका मुद्दा, जीवन दर्शन, नेपाली चलचित्र तथा टीकापुरका चुनौती र अवसरलगायत विषयमाथि बहस गरिने आयोजकले जनाएको छ ।
‘टीकापुर साहित्य महोत्सवमा मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान महोत्सवको प्रवर्द्धक छ । सहप्रवर्द्धकमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहनेछन् ।’
