बुटवलमा ललितकला प्रदर्शनी

फाल्गुन ११, २०८१

सन्जु पौडेल

Fine Art Exhibition in Butwal

तिलोत्तमा — नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुटवलमा शनिबारदेखि लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमका बीच प्रदर्शनीको उद्घाटन गरे । उनले लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्दै कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए । 'कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ’, उनले भने, ‘हाम्रो सम्पदाका चित्र बनाएर बजारमा पुर्‍याउँदा आम्दानी पनि बढाउन सकिन्छ ।’

मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत् ललितकला विधाका कलाकृतिको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । ‘कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति भएकाले यस्ता प्रदर्शनीले नेपाली ललितकला क्षेत्रको प्रवर्द्धन गर्दै नवप्रतिभालाई उत्प्रेरित गर्ने उनको भनाइ छ ।  

लुम्बिनी प्रदेश सरकारले साहित्यको संरक्षण तथा प्रवर्द्धन, भाषा विकास, संस्कृति र इतिहासको संरक्षण तथा कला प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिए । उनका अनुसार विधेयक तर्जुमा प्रक्रिया जारी छ । ऐन सबै पक्षलाई समेटेर तयार पारिने उनले बताए ।  

फागुन १४ गतेसम्म चल्ने प्रदर्शनीमा प्रदेशका १२ जिल्लाका कलाकारले निर्माण गरेको आकृति राखिएका छन् । १ सय २३ जना कलाकारको १ सय ८० कलाकृति प्रदर्शनीमा राखिएको छ । 

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully