प्रगतिशील लेखक सङ्घ रूपन्देहीको अध्यक्षमा कृष्ण गाउँले

फाल्गुन ३, २०८१

कान्तिपुर संवाददाता

Krishna Village as the President of Progressive Writers Association Rupandehi

रूपन्देही — प्रगतिशील लेखक संघ, नेपाल रूपन्देहीको अध्यक्षमा कृष्ण गाउँले चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न संघको २८औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुवास रिजाल, हीरालाल धामी र ज्ञानु केसी चयन भएका छन् भने सचिवमा यज्ञलाल सुवेदी छानिएका छन् । सहसचिवमा गीतारानी बलाल थापा, कोषाध्यक्षमा टेकराज लुसाल र सदस्यहरूमा माधवकुमार पौडेल, हुमराज भुसाल, सरु ज्ञवाली, सागर केसी, बेनप्रसाद थापा, जीवन पाण्डे, नरबहादुर घर्ती, दुर्गालाल तिवारी, सुरज दीपशिखा, सुनिता चुँदाली, हीरा शर्मा, शारदा पाण्डे, कमला बञ्जाडे र दुर्गादेवी थापा छानिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समिति उपाध्यक्ष प्राज्ञ नमुना शर्माले संगठनको महत्वबारे चर्चा गरिन् । विशिष्ट अतिथि केन्द्रीय सचिव दलबहादुर गुरुङले प्रगतिशील साहित्यको भूमिका र श्रमिक वर्गको चेतना अभिवृद्धिमा यसको प्रभावबारे प्रकाश पारे। अभिभावकिय आतिथ्यतामा रहेका रामचन्द्र भट्टराई, प्राज्ञ बूँद राना र दिल सहानीले साहित्यिक आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।

प्रलेस, नेपाल रूपन्देहीका अध्यक्ष कविराज पौडेलद्वारा प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । पूर्वअध्यक्ष प्रदीप प्रधानले स्थापना गरेको 'ज्योतिमान बुद्धिकुमारी प्रधान अक्षयकोष' बाट वरिष्ठ साहित्यकार तथा पूर्वअध्यक्ष देवेन्द्र घिमिरेलाई 'प्रलेस सम्मान' प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको मुखपत्र 'प्रलेस' को विमोचन गरिएको थियो । प्राडा कपिलदेव लामिछाने, डा. मुरारी पराजुली, यज्ञ गैरे, सुजित विक, लीलाबहादुर केसी, डिल्लीराज भट्टराई, डा. अजित खनाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कान्तिपुर

Link copied successfully