‘अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान’ बाट धरावासी र स्वप्निल पुरस्कृत

बाढीपहिरो र बम विस्फोटमा ज्यान गुमाएका आफन्तलाई राहत 

माघ २६, २०८१

लक्ष्मी गौतम

Dharawasi and Swapnil awarded with 'Amar Nembang Limbu Smriti Sahitya Samman'

पाँचथर — यो वर्षको ‘अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार’ समालोचक कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई प्रदान गरिएको छ ।

लेखक, साहित्यकार तथा फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्बाङको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार शनिवार फिदिममा आयोजित कार्यक्रममा स्रष्टाद्वयलाई अर्पण गरिएको हो ।

कवि साहित्यकार तथा फाल्गुननन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष अमर नेम्बाङको निधन पश्चात् उनको सदस्यहरूले स्थापना गरेको ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले छैटौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्मान र पुरस्कार अर्पण गरिएको हो ।

दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले समान पचास हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिष्ठानले सोही कार्यक्रममा विपत्तिमा परेका नागरिकलाई राहत वितरण गर्दै आएको हाम्रो सहारा पाँचथर नामक सामाजिक संस्थालाई प्रोत्साहनस्वरूप नगद पचास हजार रुपैयाँ उपलब्ध गराएको छ ।

यस्तै असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा ज्यान गुमाएका फिदिम नगरपालिकाका-९,फाल्गुननन्द गाउँपालिकाका-२ र फालेलुङ गाउँपालिका-४ गरी १५ जना नागरिकको परिवारका सदस्यलाई जनही १० हजार भदौ १३ गते फालेलुङ-५ प्राङवुङमा बम विस्फोटमा ज्यान गुमाएका दिप्सन र प्रिन्सा साँवाका अभिभावकलाई १५हजार रुपैयाँ राहत उपलब्ध गराएको छ ।

यो सँगै फाल्गुननन्द-५ स्थित जनकल्याण मावि फाक्तेप कक्षा ११ मा अध्ययनरत अञ्जना चेम्जोङलाई १५ हजार रुपैयाँ राशिको जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।

पुरस्कार ग्रहण गरे पश्चात् दुवै स्रष्टाहरूले सम्मानबाट आफूहरूलाई नेपाली साहित्यको विकास र लेखन मार्फत समाज परिवर्तनका लागि जिम्मेवारी बढाएको बताए ।

लेखक, कवि तथा राजनैतिक व्यक्तित्व अमर नेम्बाङको २०७६ साल माघ २६ गते फाल्गुननन्द गाउँपालिका केन्द्र घुर्विसे पञ्चमीमा आयोजित कार्यक्रममा सम्बोधन गरिसके लगत्तै निधन भएको थियो ।

उनको निधन भएकै दिनलाई प्रतिष्ठानले स्मृति दिवस आयोजना गर्दै स्रष्टा सम्मान, जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति र प्राकृतिक विपत्तिमा परेका नागरिकका आफन्त र परिवारका सदस्यलाई राहत वितरण गर्दै आएको छ ।

अमर नेम्बाङ साहित्य सम्मानबाट यसअघि श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा.गोविन्दराज भट्टराई, वीर नेम्बाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, विमला तुम्खेवा र गिरीराज बाँस्कोटालाई प्रदान गरिसकिएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully