‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ धरावासी र स्वप्निल स्मृतिलाई

माघ २४, २०८१

लक्ष्मी गौतम

'Amar Nemwang Smriti Literary Award' to Dharavasi and Swapnil Smriti

पाँचथर — लेखक, साहित्यकार तथा फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार’ यो वर्ष कवि कृष्ण धरावासी र स्वप्निल स्मृतिलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

नेम्वाङको परिवारका सदस्यहरुले स्थापना गरेको अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्वाङको छैठौं स्मृति दिवसमा धरावासी र स्वप्निललाई संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । माघ २६ गते नेम्वाङको स्मृति दिवसको अवसरमा वितरण गरिने उक्त पुरस्कारको राशी जनही नगद ५० हजार र कदर पत्र रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङका अनुसार प्रतिष्ठानले यही माघ २६ गते कवि धरावासी र स्वप्निललाई साहित्य सम्मानसहित एकजना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसहित फालेलुङ बम विष्फोटमा ज्यान गुमाएका बाल बालिकाका अभिभावक र बाढी पहिरो पीडितलाई राहत वितरण गर्न लागेको हो ।

सम्मानित धरावासी मदन पुरस्कार विजेता चर्चित नेपाली साहित्यकार हुन् भने स्वप्निल अनवरत साहित्य साधनामा छन् । उक्त पुरस्कार यसअघि श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा. गोविन्दराज भट्टराई, वीर नेम्वाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा बिमला तुम्खेवा र गिरीराज बास्कोटालाई प्रदान गरि सकिएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षसमेत रहेका नेम्वाङको २०७६ साल माघ २६ गते गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरेलगत्तै निधन भएको थियो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully