जनकपुर — ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिममा जनकपुर साहित्य महोत्सवको छैटौं संस्करण बिहीबारदेखि जनकपुरमा सुरु हुँदैछ । नव मिथिला फाउन्डेसनको आयोजनामा हुने जनकपुर साहित्य महोत्सव तीन दिनसम्म चल्नेछ ।
साहित्यिक, सांस्कृतिक र समाजिक चेतनाका लागि आयोजना गरिने जनकपुर साहित्य महोत्सवमा १४ वटा प्यानल छलफल र ३ वटा एक प्रवचन समेटिएको फाउन्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए ।
फाउन्डेसनले महोत्सवको तयारीबारे मंगलबार अपराह्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष साहले लेखक सीके लालले महोत्सवको उद्घाटनमा विद्वत् प्रवचन दिनेछन् । यस्तै, नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले 'उज्यालोको यात्रा', भारतीयका लेखक सुवोधचन्द्र भारतीयले 'सीता र रोटीबेटीको सम्बन्ध' तथा खगेन्द्र संग्रौलाले 'आन्दोलन र साहित्य' मा एकल प्रवचन दिनेछन् ।
'नेपालको परराष्ट्र नीति र सीमाञ्चल' सत्रमा पत्रकार सुधीर शर्मा, लेखक तुलानारायण साह र इन्द्र अधिकारीसित पत्रकार अनिल गिरीले छलफल चलाउनेछन् । त्यस्तै 'नेपाली उद्यमीको यात्रा'मा उद्योगपति सौरभ ज्योति, माई सेकेन्ड टिचरका सुलभ बुढाथोकी र असीममान सिंहले आफ्नो धारणा राख्नेछन् । 'आनन्दको खोजी' सत्रमा पत्रकार घनश्याम खड्कासित समा थापाले सहजीकरण गर्नेछिन् ।
‘उद्घाटनको दिन हामी एकल प्रवचन र अरु औपचारिक कार्यक्रम मा गर्नेछौं,’ फाउन्डेसनका अध्यक्ष साहले भने,‘शुक्रबार र शनिबार १४ वटै प्यानल छलफल सञ्चालन हुनेछ ।’ साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा र संस्कारलगायतका विषयमा महोत्सवमा छलफल हुने फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।
महोत्सवको उद्घाटनमा जनकपुरका १० विद्यालयका ६० जना विद्यार्थीले एकैसाथ जनकपुर सहरको एन्थम ‘इएह छी हमर जनकपुर’ गीतमा कोरस प्रस्तुति गर्नेछन् । महोत्सवमा जनकपुरका चुनौती र अवसरहरू, डिजिटल युगमा पठन संस्कृति, क्रिकेट : समस्या, समाधान र सम्भावना, मधेश महिमा : उद्यमको व्यावसायीकरण, पढाइ, सिकाइ र वैज्ञानिक सोच, नीतिमा युवाको चासो र संघीय दृष्टिमा मधेशलगायतका सत्रमा बहस हुने आयोजनाले जनाएको छ ।
