‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपालीमा आउने

माघ ५, २०८१

कान्तिपुर संवाददाता

”Report from Lhasa” will now be in Nepali

काठमाडौँ — समाजशास्त्री डोरबहादुर बिष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम ल्हासा’ को नेपाली अनुवाद हुने भएको छ । शुक्रबार काठमाडौँमा आयोजित बिष्टको ९८ औँ जन्मदिवसको अवसर पारेर किताबलाई नेपाली भाषामा प्रकाशन गर्न बुक हिल पब्लिकेशन र डोर बहादुर बिष्ट फाउण्डेसनबीच सम्झौता भएको हो ।

अंग्रेजी भाषामा लिखित पुस्तकलाई पत्रकार विराट अनुपमले नेपाली भाषामा रुपान्तरण गर्नेछन् । किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ । प्रकाशक संस्था बुक हिलका प्रतिनिधि भुपेन्द्र खड्काले किताब चैतसम्ममा बजारमा ल्याइसक्ने जानकारी दिए । अनुवादक अनुपमले आफू डोरबहादुर बिष्टबाट प्रभावित भएको हुँदा उनीसँग अनुवादकको रूपमा जोडिन पाउँदा खुसी भएको बताए । 

डोरबहादुर बिष्टका सुपुत्र एवंम पूर्वमन्त्री केशरबहादुर बिष्टले बुवाका बारे विदेशका विश्वविद्यालयहरुमा डिपार्टमेन्टकै नाम रहन गएको भन्दै समाजशास्त्र एवंम् मानवशास्त्र पढ्ने विद्यार्थीले  अनिवार्य पढ्नुपर्ने बताए । उनले आम नेपाली भाषाका पाठक समक्ष पुग्न यस नेपाली भाषाको किताबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully