काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करण चैत ६ गतेदेखि हुने भएको छ । आयोजक मण्डला थिएटरले एक विज्ञप्तिमार्फत् महोत्सवको घोषणा गरेको हो । उक्त महोत्सव चैत १४गतेसम्म हुनेछ ।
महोत्सवमा अभिनेता दयाहाङ राई निर्देशकका रुपमा छनोट भएका छन् । निटफेस्ट संयोजन समूहले उनलाई निर्देशक र रङ्गकर्मी केदार श्रेष्ठलाई फेस्टिभल संयोजकको जिम्मेवारी दियो ।
यसपटक यो महोत्सव मण्डला थिएटर सँगसँगै काठमाडौंबाहिर पनि विभिन्न सहरमा हुनेगरी तयारी भइरहेको छ । महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो ।
महोत्सवका संयोजक केदार श्रेष्ठका अनुसार प्राप्त आवेदनहरुबाट नाटक तथा कार्यक्रम छनौट कार्य पनि सकिएको छ । ‘विस्तृत नाटक तथा कार्यक्रम तालिका छिट्टै सार्वजनिक गर्नेछौँ,’ उनले जानकारी दिए ।
