काठमाडौँ — कवि अर्जुनबाबु दाहालको कविता कृति ‘हिँड्न बाँकी बाटाहरू’माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । ‘कलमका साथी’ र ‘अयुर्दा अयुर्वेदिक क्लिनिक’को संयुक्त आयोजनामा बिहीबार विमर्श कार्यक्रम सम्पन्न भएको हो ।
वरिष्ठ निबन्धकार युवराज नयाँघरे र वरिष्ठ कवि नवराज लम्सालको प्रमुख आतिथ्यमासम्पन्न कार्यक्रममा उपप्राध्यापक चन्द्र ढकाल र कवि भारती न्यौपानेले समीक्षात्मक मन्तव्य दिएका थिए ।
कार्यक्रममा बोल्दै समीक्षकहरूले कृतिले सामाजिक विसङ्गतिमाथि व्यंग्य गरी जीवनबोधी अभिमत प्रस्तुत गरेको बताए । कृतिमा कविले सरल भाषामा गम्भीर अभिव्यक्ति दिन सफल भएको उनीहरूको धारणा थियो ।
उपप्राध्यापकद्वय निमग्ना घिमिरे र हेम भण्डारी तथा साहित्यकार शोभा शरभले कृतिमाथि पाठकीय दृष्टिकोण प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका प्राज्ञ पुरु लम्साल र वरिष्ठ कवि लम्सालले कवि दाहालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।
मौलिकताले नै सिर्जनालाई जीवन दिने भन्दै नयाँघरेले कविको प्रशंसा गरेका थिए । ‘कलमका साथी’का अध्यक्ष गीता रेग्मीले सरल कविताले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।
सहजकर्ताको भूमिकामा रहेकी आख्यानकार अनिता कोइरालाले कृतिभित्रका केही कविताको सुमधुर वाचन गरी कृतिको महत्त्व उजागर गरेकी थिइन् । कवि दाहाल गीतकार तथा समीक्षकसँगै आयुर्वेदिक चिकित्सक तथा अयुर्दा आयुर्वेदिक क्लिनिकका सञ्चालक पनि हुन् ।
