चितवन — सामाजिक र सहकारी अभियानमा पनि सक्रिय रहेका नेपाली कांग्रेस चितवनका नेता शालिग्राम शर्माका बारेमा लेखिएको पुस्तक 'शब्दचित्रमा शालिग्राम शर्मा' बुधबार सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर मधु आचार्यले भरतपुरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा शर्माका बारेमा विभिन्न ९८ जनाले लेखेका लेख, कविता तथा अन्तर्वार्ताहरू समेटिएका छन् ।
पुस्तकका प्रधान सम्पादक रहेका एकनारायण पौडेलले शर्माका व्यक्तित्वका विभिन्न पाटाहरू समेटिएको बताए । वि.सं. २००७ साल असोजमा बागलुङ बलेवामा जन्मेका शर्मा हाल चितवनमा बसोबास गर्दछन् । उनी कांग्रेस चितवनका उपसभापति हुन् ।
बागलुङमा कांग्रेसको क्षेत्रीय सभापति रहेका पिताको प्रभावले उनी सानैदेखि राजनीतिमा संलग्न भएको प्रधानसम्पादक पौडेलले बताए । उनी २०२० देखि ०२३ सालसम्म विद्यालयमा विद्यार्थी युनियनको सचिव, एसएलसी दिएपछि ०२५ सालमा शिक्षक भएको, ०३० सालमा स्याङ्जामा प्रावि निरीक्षक र ०३१ सालदेखि ०३६ सालसम्म कृषि विकास बैंकको कर्मचारी भएको पुस्तकमा उल्लेख छ ।
त्यसैगरी ०५३ सालमा सहभागी नामक गैर सरकारी संस्थामा सचिव र कार्यकारी निर्देशक भएर सामाजिक क्षेत्रमा पनि सरिक भएको र २०५६ सालमा अथर्व बचत तथा ऋण सहकारी संस्था खोली स्थापनादेखि लगातार १४ वर्ष अध्यक्ष रहेको जानकारी उक्त पुस्तकमा छ ।
'राजनीतिमा सक्रिय भए पनि पद र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्ने महत्वकांक्षा नभएको व्यक्ति हो उहाँ । यसका साथै सामाजिक र सहकारी क्षेत्रमा उहाँको सक्रियता र अनुभव अरूका लागि अनुकरणीय छ । यस्ता धेरै खाले अनुभव समेटेका व्यक्तिका बारेमा निस्केको पुस्तक पठनीय बनाउने हाम्रो प्रयास रहेको छ,' पुस्तकका प्रधान सम्पादक पौडेलले भने । पुस्तक प्रकाशन उमनाथ प्रतिष्ठानले गरेको हो ।
