काठमाडौँ — सन् १९५८, अक्टुबरमा तत्कालीन सोभियत गणराज्य उज्बेकिस्तानको राजधानी ताशकन्द सहरमा भएको अफ्रो-एशियाली लेखक सम्मेलनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमाथि एक सम्भाषण दिएका थिए । नेपाली साहित्य त्यस बेलासम्म कुन अवस्थामा थियो ? त्यसले कुन दिशा पक्रिँदै थियो ?
देवकोटाले त्यो विषय विश्वसामु त्यसबेलै भनेका थिए । त्यो कार्यपत्रलाई नेपाली साहित्यमाथिको सुक्ष्म अवलोकन मानिन्छ, जसले बदलिँदो नेपाली समाजको चरित्र देखाउँछ । नेपाली साहित्यमा विद्यावारिधि गर्ने रूसी विदुषी ल्युदमिला आगानिनाले लेखेकी थिइन्, ‘अंग्रेजी भाषामा निपुण, विश्वसंस्कृति र आफ्नै राष्ट्रिय संस्कृतिका गहन ज्ञाता देवकोटा ती थोरै व्यक्तिहरूमा पर्नुहुन्छ, जसलाई नेपालले विश्व सम्मेलनमा पठाएको थियो ।’
आफ्नो नयाँ किताब ‘सन्दर्भ र भूमिका’ मा देवकोटाको त्यो पुराना कथा सम्झना गरेका छन् रूसी महासंघका लागि आवासीय नेपाली राजदूत, प्रा. डा. जङ्गब चौहानले । ‘रूसमा महाकवि देवकोटा’ लेखमा चौहानले लेखेका छन्, ‘सपनाको सहर मास्कोका सडकहरूमा देवकोटा रमाउँदै हिँड्नुभएको थियो ।’
जङ्गब चौहानका दुई किताब ‘सन्दर्भ र भूमिका’ र ‘रसियाको गहिराइमा र अन्य कथाहरू’ (दोस्रो संस्करण) माथि मंगलबार काठमाडौंको एक कार्यक्रममा परिचर्चा गरिएको छ । किताब नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, कवि विमल निभा र राजनीतिकर्मी रघु पन्तले विमोचन गरे । रघु पन्तले किताबमाथि बोल्दै तिनले तत्कालीन रूसी समाज र साहित्यमाथि गम्भीर विमर्श गरेको बताए । ‘यी दुई किताबले रूसी साहित्य र साहित्यकार बुझ्न सघाउँछ,’ उनले भने । निभाले भने, ‘यी किताबहरुले रुसी साहित्य बुझाउँछन् ।’
‘सन्दर्भ र भूमिका’ किताबमा चौहानले विभिन्न कालखण्डमा लेखेका लेख, निबन्ध समावेश छन् । ती निबन्ध केही रूसी र केही नेपाली साहित्यसँग सम्बन्धित छन् । किताबमा उनले देवकोटा, मिखाइल शोलोखोभ, माक्सिम गोर्की, पुश्किन, आन्तोन चेखबदेखि पाब्लोनेरूदासम्मका लेखनमाथि समीक्षा गरेका छन् ।
‘रसियाको गहिराइमा र अन्य कथाहरू’ मा चौहानले अनुवाद गरेका १९ कथाकारका, ३० रुसी कथाहरू छन् । १९ र २० औं शताब्दीकारुसी कथाकार आन्तोन चेखब, लेभ् तोल्सतोइ, माक्सिम गोर्की, मिखाइल शोलोखोभ, युरी वोन्दरेभ लगायतका ती कथाले रुसी रसोभियतकालीन समाज बुझाउँछन् । ‘यी कथाहरूभित्र मानवता र न्यायका पक्षमा गहन चिन्तन छ, मानवीय गरिमाको खोजि पनि,’ कार्यक्रममा चौहानले भने, ‘यी कथाहरूमा मानिसको सहनशीलता, विवेक, साहस, नैतिकताको सुवास पाइन्छ ।’ चौहानले रूसीसाहित्यको अध्ययन, अनुसन्धानमा रसियामा १२ वर्ष बिताएका थिए ।
दुवै किताब भृकुटी एकेडेमिक पब्लिकेशन्सले प्रकाशित गरेको हो । यसअघि प्रा. डा. जङ्गब चौहानका ‘युरेशियाका कविता’ (अनुवाद), ‘मत्सिरी’, (अनुवाद), ‘पुश्किन र त्युत्चेभका कविता’ (अनुवाद), ‘नीलो नीलो आकाश र दुई थोपा आँसु (सहलेखन), ‘सम्झनामा रूस’ (सहलेखन) किताबहरू प्रकाशित छन् ।
