चितवन — कविडाँडा साहित्य समाजले चितवनको लंकुमा आयोजना गरेको राष्ट्रिय गजल उत्सवपछि शनिबार साँझ १२ बुँदे निष्कर्षपत्र पनि सार्वजनिक गरेको छ । समाजले दिनभर गजल विज्ञहरू र अन्य गजलकारहरूलाई सहभागी बनाएर गजलमाथि बहस, विमर्श तथा गजल वाचन कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा पाँच जना वरिष्ठ गजलकारहरूसमेत सम्मानित भएका थिए ।
आदिगजलकार मोतिराम भट्टबाट सुरु भइ पुनर्जागरण हुँदै हालसम्म विकसित नेपाली गजल लेखन परम्पराको गौरवमय विरासतलाई सम्मान एवम् स्वीकार गर्दै नेपाली गजलको हितमा निष्कर्षपत्र जारी गरेको समाजले जनाएको छ ।
नेपाली गजल लेखनका शैलीगत विविधताका सन्दर्भमा विभिन्न धारणा र मत सतहमा आएको तथा एक पक्षले अर्को पक्षको अस्तित्वलाई प्रश्न र सन्देहको घेरामा राखेको अनुभव गरिएको निष्कर्षपत्रमा उल्लेख छ । तर शास्त्रीय एवं मौलिक अभ्यासको परिधि, विषयवस्तुको गहनता र वजनलाई ध्यानमा राख्दै प्रस्तुत हुने विचार र तर्कलाई सर्जकको स्वतन्त्रता तथा विकासको स्वाभाविक प्रक्रिया मान्ने समाजले जनाएको छ ।
गजलकारहरूबीच बेला–बेलामा प्रकट हुने फरक मत तथा असमझदारी भेटघाट, संवाद, विमर्श र सह–अभ्यासको कमीका कारण सिर्जना भएको हो भन्ने निष्कर्ष निकाल्दै यसतर्फ सबै सर्जक र पक्षको पहल र अभ्यास हुनु आवश्यकता समाजले औंलाएको छ । शास्त्रीय मान्यताअनुसार बहर र छन्द गजलको आवश्यक तत्त्व रहेको तर बहर र गैह्र–बहर गजललाई अमूल्य सम्पत्तिको रूपमा स्वीकार गर्दछौं भनिएको छ ।
उत्सवको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै गजलकार ज्ञानुवाकर पौडेलले साना झिनामसिना कुराले गजलमा विवाद ल्याएको बताएका थिए । उनले छन्दमा नलेखेको गजल छाप्न, गाउन हुँदैन भन्ने भावना अतिवादी सोच भएको बताएका थिए । ‘पाकिस्तानमा महिलालाई पनि स्कुल पठाउनु पर्दछ भन्ने अभियान चलाउनमोथि गोली हानिएको थियो । गजलमा त्यस्तो धारणा राख्नेहरु पनि त्यस्तै अतिवादी सोच भएकाहरू हुन्,’ पौडेलको भनाइ थियो ।
कार्यक्रममा गजलबारे कार्यपत्र पेस गर्दै दीपककुमार खड्काले लय विविधता, मौखिक प्रस्तुति कला,नेपाली गजलको विशिष्ट विशेषताहरू भएको बताए । साथै नेपाली गजलले प्राज्ञिक सैद्धान्तिकीकरणको विस्तार पर्खिरहेको पनि उनले बताए । त्यसैगरी नारायणप्रसाद शर्मा गैरेले नेपाली गजलले प्रेमभाव मात्रै नबोकेर समसामयिक सामाजिक चेतनालाई पनि समेट्दै ल्याएको बताए ।
गजलमाथि अनेक बहसहरु भइरहँदा अन्यौल बढ्न जाने हुँदा वृहद छलफल गरेर साझा धारणा बनाउन आवश्यक रहेको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको मत थियो । ‘के गजलमा विवाद छ ? गजल बहरमा लेख्ने कि स्वतन्त्र लेख्ने के यो विवाद हो ? विमति, तुस केही छ भने देशभरका गजलविज्ञलाई एकै ठाउँ राखेर कविडाँडा साहित्य समाजले अर्को ठूलो कार्यक्रम गर्न तयार छ,’ समाजका अध्यक्ष एलबी क्षेत्रीले बचन दिए ।
राष्ट्रिय गजल उत्सवमा सहभागी हुने देशका विभिन्न ठाउँबाट चितवन आइपुगेका गजलकारहरूले गजल सुनाएका पनि थिए । कार्यक्रममा वरिष्ठ गजलकारहरू ज्ञानुवाकर पौडेल, गोविन्दराज विनोदी, घनश्याम परिश्रमी, बुँद राना र कृष्णहरि बराललाई कविडाँडा राष्ट्रिय साहित्य सम्मान पनि प्रदान गरिएको थियो ।
