सन्दुक रुइतलाई श्रीपति समाजसेवा पुरस्कार

पुस २०, २०८१

दीपक परियार

Shripati Samajseva Award to Sanduk Ruit

पोखरा — आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत शनिबार पोखरामा श्रीपति समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन् । पोखराको श्रीपति कोइराला गुठीले उनलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित पुरस्कृत गरेको हो । 

गुठीको ३२ औं साधारणसभामा उक्त पुरस्कार ग्रहण गर्दै डा.रुइले आफूलाई थप उर्जा प्राप्त भएको बताए । ‘मैले गण्डकी प्रदेशको मुस्ताङबाट सन् १९९२ मा आँखाको क्षेत्रमा असाध्यै महत्त्वपूर्ण काम सुरु गरेको थिएँ,’ उनले भने, ‘यही क्षेत्रको पोखरा मेरो पेसाको नजिक छ । यो पुरस्कार पाएर म धन्य भएको छु ।’ 

उनले काम गर्ने वातावरण नबनाउँदासम्म दक्ष जनशक्तिलाई स्वदेशमै रोक्न नसकिने बताउँदै राजनीतिमा सुसंस्कार हुने हो भने भारत र चीनको बीचमा रहेको नेपाल १५ वर्षमै विकसित हुने धारणा व्यक्त गरे ।  

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा रुइत यसअघि नेपाल र अन्तर्राष्ट्रियस्तरका थुप्रै सम्मान र पुरस्कारले विभूषित भइसकेका छन् । आँखाको उपचारमार्फत सामाजिक न्याय र मानवताको सेवामा केन्द्रित रहेकोले उनलाई यो पुरस्कार प्रदान गरिएको गुठीका अध्यक्ष फणिन्द्रराज कोइराला बताए । 

यसअघि यो पुरस्कारबाट मानव बेचबिखन न्यूनीकरणको क्षेत्रमा काम गर्ने संस्था माइती नेपाल, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई पुरस्कृत भइसकेका छन् ।

गुठीका अध्यक्ष कोइरालाको संयोजकत्वमा गठित छनोट समितिले श्रीपति कोइरालाको गत असार २६ मा २ सय १७ औं जन्मजयन्तिमा डा.रुइतलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । छनोट समितिमा प्राडा दीलबहादुर क्षेत्री, प्राडा विश्वकल्याण पराजुली, गेहेन्द्रेश्वर कोइराला, अशोक पालिखे, दीपेन्द्र श्रेष्ठ र विमला भण्डारी सदस्य थिए । 

साधारणसभाकै अवसरमा गुठीले पत्रकार नारायण कार्कीलाई श्रीपति सामाजिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कारको राशि २२ हजार २ सय २२ रुपैयाँ रहेको छ । उक्त अवसरमा श्रीपति विष्णुहरि ज्योतिष पुरस्कार, श्रीपति विद्यापदक तथा छात्रवृत्ति प्रदान गरिएको गुठीका सचिव नवराज कोइरालाले बताए । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully