धरोहर संरक्षण प्रतिष्ठानद्वारा विभिन्न व्यक्ति सम्मानित

पुस १७, २०८१

कान्तिपुर संवाददाता

Various individuals have been honored by the Heritage Conservation Foundation

ललितपुर — राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा विभिन्न माध्यमबाट समाज र देशमा योगदान दिनेहरुलाई सम्मान गरेको छ ।

पाटन दरबार क्षेत्रमा आयोजित समारोहमा राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (ब्याकुल माइला), अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, साहित्यकार राजेन्द्र विमल, संस्कृतिविद् प्रा.वीणा पौड्याल, लेखक एवं साहित्यकार मोहन दुवाल, आध्यात्मिक प्रवचक चैतन्य कृष्ण महाराज, इतिहासविद् गोविन्द नेपाली, गायक तथा सर्जक सुमित खड्का, लेखक तथा खोजकर्ता दिपेन्द्रराज तिम्सिना, नेपाल जेसिज वर्ष २०२५ का राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापालाई सम्मान गरिएको हो ।   

त्यस्तै सम्मानित हुनेहरुमा युवा अभियन्ता चक्रबहादुर चन्द र केपी खनाल, संगीतकार राजेन्द्र बजगाईं, सञ्चारकर्मीहरू नवराज बजगाईं, त्रिभुवनचन्द्र वाग्ले, दिलीप ढकाललगायत छन् ।

प्रतिष्ठानले नेपालको औपचारिक राष्ट्रिय पोसाक, राष्ट्रिय झन्डा, राष्ट्रिय विभूतिहरूको संरक्षण तथा अन्तर्राष्ट्रिय रूपमा पहिचान स्थापित गर्ने उद्देश्यले विगत एक दशकदेखि राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउँदै आएको छ । दिवसको अवसर बसन्तपुर र पाटन दरबार क्षेत्रमा टोपी पनि प्रदर्शनी गरिएको छ । पाटनमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले परापूर्वककालदेखि लगाउँदै आएको दौरा सुरूवाल र ढाका टोपी युवापुस्तामाझ लगाउने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । राष्ट्रिय पोसाकसँगै नेपाल विभिन्न जातजाति र भेषभुषाको देश भएकोले सबैले आ-आफ्नो भेषभुषाको संरक्षण प्रवद्वन गर्नुपर्ने उनले जोड दिए । 

कान्तिपुर

Link copied successfully