कान्तिपुरकर्मी परियारलाई शेर–विष्णु पत्रकारिता पुरस्कार
पोखरा — कवि शिरोमणि लेखनाथ पौड्यालको १ सय ४१ औं जन्मजयन्ती उनकै जन्मस्थल पोखरा–२७ अर्चलेमा सोमबार विविध कार्यक्रम गरी मनाइएको छ । कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको अगुवाइमा विभिन्न संघसंस्थाले जन्मजयन्ती मनाएका हुन् ।
जन्मजयन्तीमा लेखनाथ साहित्य पुरस्कारबाट वरिष्ठ साहित्य अन्वेषक प्राडा दयाराम श्रेष्ठ पुरस्कृत भएका छन् । कवि शिरोमणि लेखनाथ पौड्यालको कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवारजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कार पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।
कुन्तिदेवी भट्टराईको स्मृतिमा स्थापित कुन्तिदेवी साहित्य पुरस्कारबाट साहित्यकार सरस्वती ‘प्रतीक्षा’ पुरस्कृत भएकी छन् । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । चन्द्रकान्त ढकालको स्मृतिमा स्थापित एवं लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ सांस्कृतिक पुरस्कारबाट लोक गायक शिवहरि ढुंगाना पुरस्कृत भएका छन् । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । मधुमाया ढकाल शिक्षा पुरस्कारबाट पोखरा–२७ को जनज्योति माविबाट गत वर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल करुणा गौतम पुरस्कृत भएकी छन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
उक्त समारोहमा नै लेखनाथ पत्रकारिता पुरस्कारबाट रेडियो नेपालका पत्रकार ऋषिकान्त पौडेल पुरस्कृत भएका छन् । ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार लेखनाथ पत्रकार मञ्चले प्रदान गरेको हो । समाजसेवी शेरबहादुर गुरुङ र विष्णुमाया गुरुङद्वारा स्थापित तथा लेखनाथ पत्रकार मञ्चबाट सञ्चालित शेर–विष्णु पत्रकारिता पुरस्कारबाट पहिलोपल्ट कान्तिपुरकर्मी दीपक परियार पुरस्कृत भएका छन् ।
पुरस्कृत व्यक्तित्वलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, साहित्यकार सरुभक्त लगायतले पुरस्कार हस्तान्तरण गरे । समारोहमा बोल्दै महानगर प्रमुख आचार्यले साहित्यमा लेखनाथ पौड्यालको योगदानको चर्चा गरे । उनले लेखनाथको जन्मस्थललाई साहित्यिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न महानगरले सघाएको बताए ।
