धनकुटा — प्रलेस प्रतिभा पुरस्कारबाट यस वर्ष साहित्यकार झमक घिमिरे सम्मानित भएकी छन् । प्रगतिशील लेखक संघ (प्रलेस) केन्द्रीय समितिबाट प्रदान गरिने उक्त पुरस्कार आइतबार झमक निवास धनकुटा-६ कचिंडेमा वितरण गरिएको हो ।
प्रलेस नेपालका केन्द्रीय उपाध्यक्ष नमुना शर्मा तथा महाचिव देवी क्षेत्री दुलाल लगायतले उक्त पुरस्कार प्रदान गरेका थिए । घिमिरेलाई २० हजार १ सय नगदसहित सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो ।
गत असोजमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रलेस केन्द्रीय अध्यक्ष मधुसूदन गिरीको उपस्थितिमा उक्त पुरस्कारको घोषणा गरिएको थियो । प्रगतिशील वाङ्मयको उन्नयनमा उच्च योगदान पुर्याएका व्यक्तिलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गरिने प्रलेस केन्द्रीय समितिका उपाध्यक्ष शर्माले बताइन् ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतले पुरस्कृत व्यक्तित्व घिमिरेबारे धारणा राखेका थिए ।
घिमिरे पछिल्लो समय स्वास्थ्यमा समस्या भई उपचारका क्रममा रहेकी छिन् । घिमिरेले ‘जीवन काँडाकी फूल’ नामको कृतिका लागि मदन पुरस्कार प्राप्त गरेकी थिइन् ।
यसैबीच, प्रलेस धनकुटाको आयोजनामा नेपाल पत्रकार महासंघको सभाहलमा समसामयिक सवालमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
