पाँच प्रश्न : 'माधवी पढ्न सिफारिस गर्छु'

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Five questions: 'I recommend reading Madhavi'

काठमाडौँ — यादव देवकोटाको सार्वजनिक परिचय भनेको इतिहासका पेचिला विषय खोतलेर लामो र अनुसन्धानमूलक लेखकको रुपमा छ ।

प्राध्यापन पृष्ठभूमिका उनी कहिले ग्रामीण कृषि उत्पादनलाई बजारीकरण गर्ने प्रयत्नशील उद्यमीका रुपमा देखिन्छ त कहिले गोरखास्थित गाउँमा वर्षौं पुरानो बाँझो खेतलाई मलिलो बनाएर फसल फलाउन तम्सिरहेको किसानको रुपमा पनि देखिन्छ ।

सामाजिक सञ्जालमा भने उनी पेचिला र धारिला प्रश्न र टिप्पणीहरू गरिरहेका पनि भेटिन्छन् । आफूलाई पढ्ने लेख्ने काम गर्ने मान्छे बताउने देवकोटासँग कान्तिपुरको पाँच प्रश्न स्तम्भका लागि गरिएको कुराकानीको सम्पादित अंश :

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?     
पछिल्लो पटक पढेको पुस्तक युवाल नोआ हारारीको ‘द नेक्सस’ हो । यस पुस्तकमा मानव सभ्यताको विकासक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको प्रगति कसरी भयो, यसले समाजमा कस्तो प्रभाव पारेको छ र भविष्यमा यसको सम्भावित स्वरूप कस्तो हुन सक्छ भन्ने विषयमा चर्चा गरिएको छ ।


तपाईंलाई मन परेको फिक्सन कुन हो ?
अहिलेसम्मको कुरा गर्ने हो भने ‘माधवी’ हो । म विश्वभरको मानव समाजको प्रवृत्तिबारे चासो राख्थें । यो किताबमा त्यस्तो चासो राख्ने मानिसहरूलाई मनपर्ने कथा छ । यो महाभारतको कथा हो, जसमा केही निश्चित पात्रहरूमा आधारित भएर अर्को प्रकारको कथा प्रस्तुत गरिएको छ । ‘माधवी’ एकदमै उच्चस्तरमा लेखिएको कृति हो । यसलाई पढ्न अलिकति जटिल लाग्न सक्छ । तर यो अत्यन्तै रुचीकर छ ।

तपाईंलाई मन परेको नन–फिक्सन कुन हो ?
हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा. डेभिड राइकले लेखेको पुस्तक ‘हु वी आर एन्ड हाउ वी गट हियर’ मलाई अहिलेसम्मको सबैभन्दा मन परेको नन–फिक्सन हो । यस पुस्तकले मानव समुदाय र समाजबारे गहन कथा प्रस्तुत गर्दछ । विशेषगरी दक्षिण एसिया, त्यसमा पनि भारतीय जनसंख्या र विविधताको इतिहासलाई सरल र प्रभावकारी तरिकाले व्याख्या गरेको छ । मेरो आफ्नै रुची जेनेटिक्समा भएकाले यो पुस्तक मलाई अझै मन परेको हो । यसले मानव इतिहासलाई सजिलो तरिकाले प्रस्तुत गरेको छ ।

तपाईंले पढ्न नपाएको कुनै हालै निस्किएको किताब छ ?
त्यस्ता धेरै किताब छन् । नेपालीमा पनि त्यसरी आएका पुस्तक छन् । भर्खरै निस्किएका पुस्तकमध्ये सुधीर शर्माका दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ अनि ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ पढ्न मन लागिरहेको छ ।

त्यसैगरी, मनमोहन विक्रम सिंहको ‘जलजला’प्रति पनि मेरो ठूलो रुची छ । ‘जलजला’ निस्कँदै छ भन्ने कुरा मैले १०–१५ वर्षअघि सुनेको थिएँ । जलजला र मोहन विक्रम सिंहको प्रेमसम्बन्धबारे जानकारी भएकाले यो पुस्तकप्रति मेरो विशेष चासो छ । यस्ता अन्य धेरै पुस्तक पनि पढ्न बाँकी छन् ।

फिक्सन पढ्ने कि नन–फिक्सन ?
पढ्ने, लेख्ने र पढाउने पेसा त्यसमा पनि मेरो रुचि प्रायः इतिहास र संस्कृतिका विषयमा भएकाले मेरो सिफारिस एक पक्ष हुन सक्छ । यसकारण मेरो सिफारिस धेरैजसो नन–फिक्सनतर्फ झुकेको हुन सक्छ । पाठकहरूले आफ्नो रुचीअनुसार पुस्तक खोज्न सक्नुहुन्छ । मैले एक नम्बर सिफारिस गर्दा डेभिड राइकको ‘हु वी आर एन्ड हाउ वी गट हियर’ र टम हाइमको ‘द वर्ल्ड बिफोर अस’ छन् ।

नेपालीमा बीपी कोइरालाको ‘आत्मवृत्तान्त’, जसले तत्कालीन समयमा नेपाली समाजको नेतृत्वले लोकतन्त्रका लागि गरेको संघर्षको कथा भन्छ । जनकलाल शर्माको ‘हाम्रो समाज : एक अध्ययन’ पनि राम्रो छ । ‘माधवी’ मेरो अहिलेसम्मको मनपरेको फिक्सन भएकाले यो पनि सिफारिस गर्दछु ।

कान्तिपुर

Link copied successfully